दमौली । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो ।
तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो ।
दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए ।
उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो । पुल पुन:सञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायत स्थानमा आवतजावत सहज हुनुका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।
करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैँडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ । पोखरा, गैँडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन अलपत्र परेका थिए ।
गाउँपालिकाका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दशैँको बेलामा नागरिकलाई राहत मिलेको बताए ।





