काठमाडौँ । नेपाल शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षकको तलब भत्ता, दुर्गम भत्ता, विद्यालय शिक्षा ऐन र शिक्षकका लागि सवारीसाधन सुविधालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । शिक्षकहरूलाई घरजग्गा खरिद तथा आवास निर्माणका लागि सहुलियत दरमा ऋण उपलब्ध गराउनसमेत महासंघले सरकारसँग आग्रह गरेको छ ।
असौज २५ गते एक वक्तव्य जारि गरी महासंघले २०८३ सालको विजयादशमी, नेपाल संवत्, शुभ–दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै शिक्षक तथा विद्यालय कर्मचारीका समसामयिक समस्याहरू समाधान गर्न सरकारसँग माग गरेको हो ।
महासंघले ‘समान कामको समान ज्याला’ को सिद्धान्तअनुसार अस्थायी प्रकृतिका शिक्षकलाई प्रोत्साहन भत्ता र दुर्गम भत्ता उपलब्ध गराउनुपर्ने जनाएको छ । त्यस्तै, भौगोलिक आधारमा दुर्गम तथा स्थानीय भत्ता पाउने शिक्षकलाई विगतदेखि रोकिएको भत्ता उपलब्ध गराउन र शिक्षकबाट फिर्ता मागिएको रकम फिर्ता गराउनुपर्ने माग गरेको छ ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग दोहोर्याउँदै महासंघले सरकारसँगको संवाद र सहमतिका आधारमा ५४ बुँदे मागपत्र संशोधन गरी अविलम्ब ऐन जारी गर्न आग्रह गरेको छ । विभिन्न तहमा कार्यरत शिक्षकलाई सवारीसाधन सुविधा उपलब्ध गराउने विषयमा सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने महासंघको माग छ ।
महासंघका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाद्वारा जारी वक्तव्यमा शिक्षकका समस्या समाधान गरी शिक्षा क्षेत्रको सुधार र शिक्षकको पेसागत हकहित सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।







