गोरखा। बुढीगण्डकी नदीमा आएको बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन् भने दर्जनौँ भौतिक संरचनामा क्षति पुगेको छ।
Advertisement
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आइतबार बिहान लेदोसहितको बाढी आएको हो। बाढी प्रभावित ४७ जनाको उद्धार गरिएको छ।
बाढीले विभिन्न झोलुङ्गे तथा पक्की पुल, घर र ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्पमा क्षति पुर्याएको छ। दुई टेलिफोन टावर र ५० विद्युत् पोलमा समेत क्षति पुगेको प्रारम्भिक विवरण छ।
प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना उद्धार तथा खोजीमा जुटेका छन्। प्राधिकरणले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।





