दोहा, ९ असोज । कतारले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा कतारविरुद्ध लगाउनुभएको आरोप अस्वीकार गर्दै त्यसलाई इजरायलको कार्यबाट ध्यान हटाउने प्रयास भएको बताएको छ ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल–अन्सारीले सामाजिक सञ्जाल एक्समार्फत नेतान्याहुको आरोप स्पष्ट रूपमा अस्वीकार गर्नुभएको हो । उहाँले कतारले इजरायलविरुद्ध जनमत प्रभावित पार्ने अभियान चलाइरहेको भन्ने आरोप निराधार रहेको बताउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रमा इजरायलले गरेको कार्य र त्यसबाट उत्पन्न मानवीय परिणामबाट ध्यान मोड्न यस्तो बयानबाजी गरिएको बताउनुभयो ।
विश्वव्यापी जनमतमा, विशेषगरी युवाहरूमा आएको परिवर्तनलाई कुनै ‘प्रभाव अभियान’ को परिणामका रूपमा व्याख्या गर्नु उनीहरूको चेतना र निर्णय क्षमताको अपमान हुने उहाँले बताउनुभयो । मानिसहरूले प्यालेस्टिनी क्षेत्रमा भइरहेको अवस्था प्रत्यक्ष देखेर आफ्ना धारणा बनाइरहेको उहाँको भनाइ थियो ।
विश्वले इजरायललाई फरक दृष्टिले हेरेको चाहने हो भने इजरायली नेताहरूले आफ्नो नीति परिवर्तन गर्नुपर्ने, अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्ने र आफ्ना कार्यको जिम्मेवारी लिनुपर्ने उहाँले बताउनुभयो ।
कतारको प्रतिक्रिया नेतान्याहुले महासभामा कतार र टर्कीको नाम लिँदै इजरायलविरुद्ध ‘झुट’ फैलाउन धेरै विदेशी मुलुकले ठूलो रकम खर्च गरेको आरोप लगाएपछि आएको हो । उहाँले कतारले युवाहरूलाई इजरायल, अमेरिका र पश्चिमप्रति घृणा गर्न उक्साउने अभियान चलाएको आरोप लगाउनुभएको थियो ।
नेतान्याहुले कतारले हमासका नेताहरूलाई आश्रय दिएको भन्दै आलोचना गर्नुभएको थियो भने टर्कीलाई ‘यहुदीकविरोधी झूट फैलाउने प्रमुख माध्यम’ भएको आरोप लगाउँदै राष्ट्रपति रेसेप तैयप एर्दोगानविरुद्ध पनि टिप्पणी गर्नुभएको थियो ।
