काठमाडौँ । सिभिल सेभिङ एन्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई पाँच वर्ष छ महिना कैद फैसला भएको छ ।
जिल्ला अदालत काठमाडौँले २०८३ भदौ २५ गते बिहीबार तामाङसहित प्रतिवादीलाई ठगी तथा सङ्गठित अपराध कसुरमा सजाय निर्धारण गरेको हो ।
न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते ठगी र सङ्गठित अपराधको कसुर ठहर गरेको थियो । बिहीबार भने प्रतिवादीलाई कैद र जरिवाना सजाय तोकेको हो ।
अदालतल तामाङलाई पाँच वर्ष छ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । उनीसहित अन्य प्रतिवादीहरू विरुद्ध पाँच अर्ब ६७ करोड ५५ लाख २४ हजार तीन सय ९७ रुपैयाँ बिगो कायम गरेको थियो । यो बिगो दामासाहीले भाग गरी असुल गर्न पनि अदालतले आदेश दिएको छ ।
सहकारी ठगी र सङ्गठित अपराधमा प्रतिवादी रहेका दुर्गाप्रसाद सङ्ग्रौलालाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ । जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी र प्रवीणप्रसाद प्रधानलाई पनि सोही सजाय सुनाएको छ ।
केशवलाल श्रेष्ठलाई पाँच वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना, रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, मुकुन्दप्रसाद नेउपानेलाई पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकेको छ ।
एवम् प्रकारले दाहीरा तुलाधरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, नगेन्द्र बिमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई छ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यता, इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) लाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ भने लालकाजी गुरुङलाई पनि सोही सजाय सुनाएको छ ।
यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा २०८० माघ २१ गते दोषी ठहर गरेको थियो । अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई तीन वर्ष कैद र एक करोड ७२ रुपैयाँ बढी रकम जरिवाना सजाय सुनाएको थियो ।
