काठमाडौँ । नेकपा (मसाल) ले भर्खरै प्रदर्शन गरिएको ‘१२ मई’ नाटकले निरङ्कुशताको पराजय हुने सन्देश दिएको निष्कर्ष निकालेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ २४ गते प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो विचार व्यक्त गरेको हो ।
यही भदौ २१ गते नेपाल प्रज्ञा–प्रतिष्ठानमा मञ्चन गरिएको उक्त नाटकमा निरङ्कुशताका विरुद्ध सङ्घर्षको पृष्ठभूमि रहेको उल्लेख गर्दै वक्तव्यमा अहिले सरकारको प्रवृत्ति पनि निरङ्कुशतातर्फ इङ्गित भएको उल्लेख छ ।
नाटकमा उपस्थित दर्शकप्रति उच्च सम्मान र धन्यवाद प्रकट गर्दै वक्तव्यमा उक्त नाटकले अन्तत: निरङ्कुशता पराजित हुने सन्देश व्यक्त गर्न सफल भएको मसालको निष्कर्ष छ ।
सो नाटकको भिडियो तयार पारेर नेपाल र भारत प्रदर्शन गर्ने र पछि उक्त भिडियो काठमाडौँमा नि:शुल्क प्रदर्शन गर्ने योजना रहेको पनि प्रेसवक्तव्यमा उल्लेख गरिएको छ ।
प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“१२ मई नाटकको यही भदौ २१ गते प्रज्ञा–प्रतिष्ठानको समपे्रक्षालयमा भव्य रूपमा प्रदर्शन भएको छ । त्यो नाटक हेर्न आउनुभएका ठुलो जनसमूहप्रति हामीले उच्च सम्मान र धन्यवाद प्रकट गर्दछौँ ।
नेपालमा निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाअन्तर्गत हुन थालेको चुनाव विरुद्धको बहिष्कार आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दै सन् त्यो नाटक मे १२, १९८६ (तदनुसार २०४३ वैशाख २९ गते) मा दिल्लीमा भएको विरोध प्रदर्शन र त्यस सिलसिलामा १० जना महिलासहित ९५ जना नेपाली प्रदर्शनकारीको गिरफ्तारीको विषयलाई लिएर मोहनविक्रम सिंहद्वारा लेखिएको थियो र त्यसको नोभेम्बर १३–१७, १९८९ (तदनुसार २०४६ कात्तिक २८–मङ्सिर २ गते) मा कानपुरमा अखिल भारत नेपाली एकता समाजको तृतीय अखिल भारतस्तरीय सम्मेलनको बेलामा प्रथम पल्ट प्रदर्शन गरिएको थियो । त्यही ऐतिहासिक नाटकको यही भदौ २१ गते प्रज्ञा–प्रतिष्ठानमा प्रदर्शन गरिएको थियो । त्यो नाटक हेर्न आएको ठुलो जनसमूहले त्यो नाटकको विषयवस्तुप्रति जनताको ठुलो उत्साह र समर्थनलाई पनि बताउँछ ।

त्यो नाटकको विषयवस्तुले ऐतिहासिक दृष्टिकोणले ठुलो महत्त्व राख्दछ तर त्यस विषयवस्तुले वर्तमान राजनीतिमा पनि गम्भीर अर्थ र महŒव राख्दछ । विद्यार्थी, ट्रेड युनियन र पत्रकारिता समेतमाथिको बढ्दो नियन्त्रणले त्यही कुरालाई बताउँछ । त्यसका साथै सरकारले संविधानमा संशोधनको कुरा जसरी ल्याइरहेको छ, त्यसलाई पूरै पुनर्लेखन गर्ने प्रकारको जुन सोचाइलाई अगाडि बढाइरहेको छ, त्यसबाट पनि सरकार वर्तमान संविधान र बहुदलीय व्यवस्थालाई पूरै खारेज गरेर एक वा अर्को प्रकारले देशमा निरङ्कुश शासन कायम गर्ने दिशातिर नै उद्यत् भइरहेको देखिन्छ । संविधान संशोधनको क्रममा जनताद्वारा प्रत्यक्ष रूपले निर्वाचित कार्यकारी प्रमुखमा दिने गरेको जोडबाट पनि अन्तत्वगत्वा सरकारले फासिवादी दिशा नै समात्न खोजेको कुरा देखिन्छ । त्यो अवस्थामा १२ मेको आन्दोलनले निरङ्कुश शासनका विरुद्ध जुन सन्देश दिएको थियो, त्यो खालि इतिहासको विषय नभएर वर्तमान भविष्यको पनि राजनीतिक आवश्यकता बन्न सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यसबाट यो निष्कर्ष निकाल्न सकिन्छ कि १२ मईको नाटकले आउने दिनमा पनि नेपालको राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्नेछ वा खेल्नुपर्दछ ।
गत भदौ २१ गते प्रज्ञा–प्रतिष्ठानको हलमा १२ मई नाटकको जुन प्रदर्शन भयो र त्यसलाई जनताद्वारा जसरी भव्य रूपमा स्वागत गरियो, त्यसमाथि ध्यान दिँदै हामीले त्यसको भिडियो तयार पारेर देशव्यापी रूपमा र भारतमा पनि प्रदर्शन गर्ने सोचाइ बनाएका छौँ । त्यसबाट जनतामा १२ मईको चेतनालाई व्यापक र उच्चस्तरमा विकसित गर्न मदत पुग्नेछ भन्ने हामीले विश्वास गरेका छौँ ।
भदौ २१ गते १२ मई नाटक प्रदर्शनको सफलताका पछाडि सर्वप्रथम पार्टी, राष्ट्रिय जनमोर्चा हाम्रा जनवर्गीय सङ्गठन तथा हाम्रा सबै समर्थक र जनतासमेतले सामूहिक रूपमा देखाएको उत्साह र सहभागिताको परिणाम हो । त्यसका लागि हामीले उहाँहरू सबैप्रति कृतज्ञता प्रकट गर्न चाहन्छौँ । हामीले आशा गर्दछौँ, उक्त १२ मई नाटकको नेपालभित्र र भारतमा समेत देखाइने भिडियो प्रदर्शनमा पनि हामीलाई त्यही प्रकारको व्यापक र उत्साहप्रद समर्थन प्राप्त हुनेछ र त्यसबाट जनतामा पैदा हुने उच्च प्रकारको चेतनाबाट हामी निरङ्कुश पञ्चायती तानाशाही व्यवस्थालाई जस्तै भविष्यमा सम्भावित कुनै पनि प्रकारको निरङ्कुशतालाई पराजित गर्न सफल हुनेछौँ भन्ने कुरामाथि हामीलाई अगाध र पूर्ण विश्वास छ ।
हामीले १२ मईको नाटकबाट भएको आम्दानीको ५० प्रतिशत रसुवाको भोटेकोशी बाढीबाट पीडित जनताको सहयोगमा दिने निर्णय गरेका थियौँ । हाम्रो त्यो निर्णय अहिले पनि कायम छ । उक्त नाटकबाट हामीलाई समग्र रूपमा कति आम्दानी हुनेछ ? त्यो कुरा नेपालभरि र भारतमा समेत भिडियोको प्रदर्शनपछि नै थाहा हुनेछ । त्यसपछि त्यसबाट भएको आम्दानीको ५० प्रतिशत हामीले भोटेकोशीद्वारा पीडित जनताको सहयोगमा नै दिनेछौँ । त्यस सन्दर्भमा हामीले एउटा अर्को कुरा पनि प्रष्ट गर्न चाहन्छौँ । हाम्रो नेपालभरि र भारतमा समेत १२ मई नाटकको भिडियोको प्रदर्शनपछि राजधानीमा प्रज्ञा–प्रतिष्ठानमा नै एक दिन नि:शुल्क भिडियो प्रदर्शन गर्ने पनि योजना छ । त्यो प्रदर्शनको दिन र समयबारे हामीले पछि सूचना दिनेछौँ ।
अन्तमा प्रज्ञा–प्रतिष्ठानमा १२ मई नाटकलाई हर्के र उजेलीले “हाम्रो क्रान्ति जारी छ” भन्ने उद्घोषसहित त्यो नाटकको अन्त गरेका थिए । त्यो १२ मई नाटकको सन्दर्भमा हामीले पुन: यो उद्घोष गर्न चाहन्छौँ, हाम्रो क्रान्ति जारी छ ।”
