काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित ‘१२ मई’ नाटक मञ्चन भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य सभाकक्षमा २०८३ भदौ २१ गते दिउसो २ बजे सो नाटक मञ्चन गरिएको हो ।
रक्तिम सांस्कृतिक अभियानको आयोजनामा नेपाल नाट्यशालाका कलाकारहरूले सो नाटक प्रस्तुत गरेका हुन् ।
नाटक मञ्चनपूर्व नयाँदिल्लीमा मे १२, १९८६ मा सम्पन्न आन्दोलनकारीमध्ये राजधानीमा उपस्थित राजेश विश्वकर्मा, अजय शर्मा (योगेन्द्र ढकाल) र भीमबहादुर रायमाझीलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
नेकपा (मसाल) का महामन्त्रीसमेत रहनुभएका लेखक सिंहको हातबाट उहाँहरूलाई गरिएको थियो ।
मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले सहजीकरण गर्नुभएको सङ्क्षिप्त कार्यक्रमपूर्व ज्ञातअज्ञात सहिदको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।
सो अवसरमा राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली, राजमो सल्लाहकार आनन्द शर्मा, तत्कालीन अखिल भारत नेपाली एकता समाजका संस्थापक सभापति गोविन्दसिंह थापा, संस्थापक सदस्य राजु नेपालीलगायतका पुराना नेताहरूको उपस्थिति रहेको थियो ।
नेपालबाट हाल करिब एक दर्जन आन्दोलनकारी सम्पर्कमा रहेको जनाउँदै आयोजकले अरूका सम्मानपत्र तत् तत् स्थानमा पुर्याइने युगदर्शनलाई जानकारी गराएको छ ।
दुई घण्टाभन्दा बढी समयसम्म मञ्चन गरिएको उक्त नाटकको अन्तमा नाट्यशालाका निर्देशक र कलाकारहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
नाटकको पहिलो मञ्चन
‘१२ मई’ नाटकको पहिलो मञ्चन सन् १९८९ मा भारतको कानपुरमा भएको थियो ।
तत्कालीन अखिल भारत नेपाली एकता समाजको तेस्रो अखिल भारत सम्मेलनको सन्दर्भमा उक्त नाटक भारतमा रहेका नेपाली कलाकारहरूले प्रस्तुत गरेका थिए ।
त्यति बेला नाटकको एउटी पात्र उजेलीको भूमिका निर्वाह गर्नुभएकी हाल राष्ट्रिय जनमोर्चाकी केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलल युगदर्शनलाई सो जानकारी दिनुभएको हो ।
विषयवस्तु इतिहास
तत्कालीन राष्ट्रिय पञ्चायत चुनाव बहिष्कारको समर्थनमा मे १२, १९८६ तदनुसार २०४३ वैशाख १९ गते भारतको राजधानी नयाँदिल्लीमा चलेको आन्दोलन नै उक्त नाटकको मुख्य विषयवस्तु रहेको छ ।
नयाँदिल्लीस्थित आई.टी.ओ. मा शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनमा दिल्ली पुलिसले निर्मम दमन गरेको थियो ।
उक्त आन्दोलन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तत्कालीन अखिल भारत नेपाली एकता समाज) ले आयोजना गरेको थियो ।
आन्दोलनमा १० जना महिलासहित ९५ जना विरुद्ध भारतीय प्रशासनले नयाँदिल्लीको तीसहजारी र पटियाला अदालतमा मुद्दा चलाएको थियो । त्यस क्रममा गिरफ्तार भएका आन्दोलनकारीहरू तीन महिनासम्म जेलमा बसेका थिए ।
राजनीतिक प्रकृतिको आन्दोलनलाई फौजदारी अभियोगको स्वरूपमा अगाडि बढाएकोले त्यसलाई झुटा मुद्दाको संज्ञा दिँदै मूल प्रवाहले त्यसको खारेजीका लागि निरन्तर आवाज उठाउँदै आएको थियो ।
बदलिएको राजनीतिक परिस्थिति तथा मुद्दा खेपिरहेका कैयौँ आन्दोलनकारीहरू सम्पर्कमा नरहेको अवस्थामा पछिल्लो समयमा भारतीय न्याय प्रशासनले सो मुद्दा निष्क्रिय तुल्याएको थियो ।
