काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो।
Advertisement
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि ईशान पाण्डेले ४०, देव खनालले ३९ तथा गुल्सन झाले अविजित ४४ रन बनाए। रोहित पौडेल २४ रनमा अविजित रहे।
यसअघि टस जितेर ब्याटिङ गरेको साउदी ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक ७७ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए।
लगातार तीन जितपछि ६ अंकसहित नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ।