मुम्बई, २० अगस्ट । भारतको मुम्बईमा चार महिनादेखि बन्धक अवस्थामा रहेकी एक नेपाली युवतीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उद्धार गरेको छ।
प्राप्त जानकारीअनुसार जुम्ला जिल्लाको तातोपानी गाउँपालिका–८, टोप्ला गाउँकी ती युवतीलाई अध्ययनका क्रममा प्रलोभनमा पारी मुम्बई ल्याएर लामो समयदेखि एउटा कोठामा बन्धक बनाएर राखिएको बताइएको छ। पीडित युवतीको नाम गोपनीयताका लागि परिवर्तन गरी ‘सुन्तली’ राखिएको छ। उनी नेपालमा नर्सिङ अध्ययन गरिरहेकी थिइन्।
बन्धक बनाइएको अवस्थामा कोठामा कोही नभएको मौका पारेर युवतीले ढोका फोरेर बाहिर निस्किई नजिकैको प्रहरी चौकीमा पुगेर सहयोग मागेकी थिइन्। त्यसपछि उनले नेपालमा रहेका आफ्ना परिवारलाई सम्पर्क गरी आफू मुम्बईमा अलपत्र परेको जानकारी गराएकी थिइन्।
युवतीका बुवाले हिमाचल प्रदेशस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका गोपाल शाहीलाई सम्पर्क गरेपछि घटनाबारे समन्वय सुरु भएको थियो। गोपाल शाहीमार्फत चण्डीगढस्थित मूल प्रवाहका केन्द्रीय सदस्य तथा युगदर्शनका संवाददाता खिमराज चालिसेसँग सम्पर्क भएको थियो। चालिसेले मुम्बईस्थित मूल प्रवाहका प्रतिनिधिसँग समन्वयका लागि आवश्यक सम्पर्क उपलब्ध गराएपछि ‘सुन्तली’को उद्धार कार्यले थप गति लिएको थियो।
घटनाबारे जानकारी पाएपछि मूल प्रवाहका केन्द्रीय सदस्य टंक कुँवरले सम्बन्धित प्रहरी चौकीमा सम्पर्क गरी घटनाबारे जानकारी लिनुभएको थियो। त्यसपछि मध्यपश्चिम भारत क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रीय सदस्य अनन्त राहाडी, क्षेत्रीय सचिव तिलक राना, कोषाध्यक्ष सन्तु थापा, रायगड नगर समितिका करण महर, महिला विभागकी यामु राना र ज्ञानु राहाडीसहितको टोली न्यु मुम्बईस्थित बेलापुर प्रहरी चौकी पुगेको थियो।
प्रहरी चौकीमा टोलीले आफ्नो परिचय दिँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तर्फबाट घटनाबारे आवश्यक समन्वय गरेको थियो। सो क्रममा पीडित युवतीका बुवासँग भिडियो कलमार्फत कुराकानी गराइएको थियो। छोरीसँग कुराकानी गरेपछि उनका बुवाले युवतीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जिम्मामा दिन प्रहरीसमक्ष सहमति जनाएका थिए।
त्यसपछि बेलापुर प्रहरीले उद्धार गरेकी नेपाली युवतीलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जिम्मा लगाएको छ। हाल युवती मूल प्रवाहको संरक्षणमा रहेको र नेपालबाट उनका परिवारका सदस्य मुम्बई आएपछि परिवारको जिम्मा लगाइने टंक कुँवरले युगदर्शनलाई जानकारी दिनुभएको छ।