टोकियो, साउन ३१ । जापानको आइची प्रिफेक्चरस्थित टोयोटा सहरको याहागी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका २८ वर्षीय नेपाली युवक मृत अवस्थामा फेला परेका छन्।
आइची प्रिफेक्चरल प्रहरीको टोयोटा प्रहरी कार्यालयका अनुसार अगस्ट १५ साँझ करिब ५ः३० बजे नदीमा पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए । घटनापछि दमकल, उद्धार टोली र प्रहरीले खोजी सुरु गरे पनि सो दिन उनलाई फेला पार्न सकेका थिएनन् ।
अगस्ट १६ बिहान पुनः खोजी गर्ने क्रममा नदीको करिब ५ देखि ६ मिटर गहिराइमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक टोयोटा सहरको कान्डामाची क्षेत्रमा बस्दै आएका नेपाली नागरिक तथा कम्पनी कर्मचारी रहेको बताइएको छ ।
प्रहरीका अनुसार घटनाका बेला करिब १५ जनाको समूह नदी किनारमा बसेर खाने–पिउने गरिरहेको थियो। त्यसमध्ये तीन जना पौडी खेल्न नदीमा पसेका थिए। नदीको बहावमा बगेका तीनमध्ये दुई जनालाई लाइफ रिङलगायतका सामग्रीको सहयोगमा उद्धार गरिएको थियो भने नेपाली युवक बेपत्ता भएका थिए ।
प्रहरीले उनको मृत्यु डुबेर भएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

