भिवाडी, साउन १८ । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–२ स्थायी घर भई हाल राजस्थानको कर्णकुञ्ज (भिवाडी) मा बसोबास गर्दै आउनुभएकी प्रेमनारायण (चन्द्रकान्त) की धर्मपत्नी भुमा देवी (करिब ५५ वर्ष) को सोमबार निधन भएको छ। लामो समयदेखि जन्डिस रोगबाट पीडित उहाँको उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
निधनको खबर प्राप्त हुनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समितिले सक्रियता देखाउँदै सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गरेको छ। नगर अध्यक्ष नारायण शर्मा र नगर सदस्य राजु बुढामगर को पहलमा स्थानीय प्रहरीसँग समन्वय गरी अस्पताल तथा कानुनी प्रक्रिया सम्पन्न गरिएपछि मृतकको दाहसंस्कार गरिएको हो।
दाहसंस्कार कार्यमा नगर सदस्यहरू काजीराम श्रेष्ठ, रामबहादुर थापा, गिरबहादुर थापा र ध्रुव थापा प्रत्यक्ष रूपमा सहभागी भएका थिए। साथै नगर सदस्य रामप्रसाद घिमिरे, डी.बी. राना, होमबहादुर कुमाल सहित उल्लेख्य संख्यामा नेपाली दाजुभाइ, महिला दिदीबहिनी तथा मृतक कार्यरत कम्पनीका प्रतिनिधि एवं कर्मचारीहरूको उपस्थिति रहेको थियो।
दाहसंस्कारअघि उपस्थित सबैले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरेका थिए। सो अवसरमा नगर अध्यक्ष नारायण शर्माले मृतकको कम्पनी व्यवस्थापनसँग बाँकी रहेको सेवा–सुविधा तथा हिसाब–किताबका विषयमा छलफल गर्नुभएको थियो। कम्पनी पक्षले एक–दुई दिनभित्र सम्पूर्ण प्रक्रिया टुङ्ग्याउने प्रतिबद्धता जनाएको बताइएको छ।
विदेशी भूमिमा दुःखद परिस्थितिमा नेपाली समुदायले देखाएको एकता, समन्वय र सहयोगले आपसी सद्भाव तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्।