आइतबार राति सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको ३ नम्बर वडा कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायमाझ विवाद भयो । करिब एक महिनाअघि मुस्लिम समुदायको मोहर्रम पर्व मनाउन स्थानीय प्रशासनले स्थल उपलब्ध गराएकोमा त्यहाँ धार्मिक पताका राखिएको थियो । पर्व सकिए पनि उक्त पताका नहटाइएपछि प्रशासनले सचेत गरायो । तबसम्म हिन्दु समुदायको बोलबमको पताका लगाउने समय आइसकेको थियो । आइतबार राति करिब ९ बजेतिर बोलबम पक्षले डिजे बजाउन थालेको भनेर विवाद भयो । ठिक यही बेला बिजुली जान्छ । करिब दुई घण्टापछि बिजुली नआउँदासम्म कप्तानगञ्ज अस्तव्यस्त भइसकेको थियो । यसबिच त्यहाँ दुई समूहमाझ झडप भयो । दुवै पक्ष निःशस्त्र थिए । विवाद बढ्दै गएपछि प्रहरी आयो । प्रहरीले हवाई फायर खोलेको दाबी गरेको छ तर गोलीबाट १० जनालाई कम्मरमुनि गोली लागेको छ । त्यसमध्ये २४ वर्षीय युवक ओमप्रकाश मेहताको मृत्यु भइसकेको छ । घटनामा नौ जना सर्वसाधारण, दश जना प्रहरी र पाँच जना सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।
घटनाले सुनसरीको सामाजिक सद्भाव बिथोलिन पुग्यो । ठाउँठाउँमा तोडफोड, आगजनी, झड्प हुन थाले । घटनाको दुष्प्रभाव सुनसरीमा मात्र सीमित रहेन, मोरङको विराटनगर, सिराहाको लहान, सप्तरीको राजविराजसम्म फैलियो । फलस्वरूप सुनसरीसहित विभिन्न स्थानमा कफ्र्यु लगाइयो । यो स्थितिबाट प्रशासन पनि प्रभावित भयो । गृहमन्त्रालयले सुनसरीको सामान्य प्रशासन र सुरक्षा संयन्त्रका उच्चपदस्थलाई सरुवा गर्यो । त्यससँगै गृहमन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइयो । सो समितिलाई सुनसरी घटनाको छानबिन गरी रिपोर्ट बुझाउनका लागि एक हप्ताको समय दिइएको छ ।
नेपालको इतिहासमा साम्प्रदायिक सद्भाव खासै खलबलिने गरेको छैन । पक्कै पनि यसको अर्थ यहाँ सामाजिक समस्या छैन भन्ने होइन । विभिन्न समस्याका बाबजुद आफ्ना समस्यालाई हिंसात्मक रूप नदिनु नेपाली समाजको विशिष्टता हो तर पछिल्लो समयमा खासगरी तराई मधेसमा हिन्दुमुस्लिम सद्भावमा समस्या देखा पर्न थालेको छ । गत कालमा मध्यपूर्वका तराईका जिल्लामा यस खालका समस्या देखिएका छन् । यस्ता समस्यामा दक्षिणबाट घुसपैठको प्रयास पनि भएका छन् । त्यसका बाबजुद नेपाली समाजले अहिलेसम्म यस्ता खालका असामाजिक प्रवृत्तिलाई प्रश्रय दिने गरेको छैन । प्रशस्त सामाजिक विविधता र कैयौँ जटिल समस्याका बाबजुद नेपाली समाजले यस खालको सामाजिक सहिष्णुता वा सद्भाव कायमै राखेको छ । यस्तो सामाजिक पुँजीलाई सुरक्षित राख्नु हामी सबैको दायित्व हो ।
सुनसरी घटनाको प्रभाव अन्य जिल्लामा फैलिनु चिन्ताको विषय हो । यसबाट सिङ्गो देशको सामु सुरक्षा चुनौती उत्पन्न हुनेछ र सामाजिक सद्भाव पनि बिथोलिनेछ । यसप्रति प्रशासनको ध्यान जानुपर्दछ । उक्त घटनामा बिजुली जानुलाई पनि शङ्काको नजरले हेरिएको छ । पक्कै पनि छानबिन समितिले यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने नै छ । त्यस्तै प्रहरीले अहिलेसम्म हवाई फायर खोलेको बताएको छ, जबकि दश जनालाई गोली लागेको छ र त्यस क्रममा एक जनाको मृत्युसमेत भएको छ । हवाई फायरबाट मानिसको ज्यान कसरी जान सक्छ ? यी विषय अनुत्तरित छन् । प्रशासनले यसको गम्भीर र निष्पक्ष छानबिन गरेर सत्य तथ्य बाहिर ल्याउनुपर्दछ ।
सुनसरी घटनाबारे सरकार र स्थानीय प्रशासन गम्भीर बन्नुपर्दछ । नेपालको संविधानले धर्मनिरपेक्षतालाई स्वीकार गरेको छ । त्यस आधारमा धार्मिक सद्भाव कायम गर्नु प्रशासनको कर्तव्य हो । यस्ता घटनामा सम्बन्धित क्षेत्रको प्रशासनले उच्च सतर्कतासँगै बलप्रयोगको सट्टा समस्याको संयमित समाधानमा ध्यान दिनुपर्दछ । पछिल्लो समयमा सामाजिक सद्भाव बिथोल्ने योजनाबद्ध प्रयास भइरहेको तथ्यतर्फ ध्यान दिँदै सरकार र प्रशासनले यस्ता विषयप्रति आफूलाई गम्भीर बनाउनुपर्दछ ।
युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क ४२, २०८३ साउन १३ गते प्रकाशित