काठमाडौं, साउन ४ । सातौं इटीटी टेबलटेनिस प्रतियोगिता तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता चार नेपाली खेलाडी सोमबार पाँचदिने भ्रमणका लागि थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन्।
इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहले आफ्नो पूर्वघोषणा अनुसार सातौं इटीटी टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा स्वर्ण जित्ने महेश श्रेष्ठ, दीक्षा दाहाल र रनोज थकु तथा ४२औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका रजत विजेता एलेक्स महर्जनलाई बैंकक भ्रमणको ‘प्याकेज’ उपलब्ध गराएको हो।
इटीटीले इटीटी प्रतियोगिताको स्वर्ण विजेता टोलीका सदस्य तथा ४२औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण र रजत विजेतालाई पाँचदिने बैंकक भ्रमण गराउने घोषणा गरेको थियो। ४२औं राष्ट्रिय टेबलटेनिसका स्वर्ण विजेता संयोग कपाली भने २०औं एसियाली खेलकुदको तयारीस्वरूप दक्षिण कोरियाको सिओलमा वैदेशिक प्रशिक्षणमा रहेकाले भ्रमणमा सहभागी हुन सकेनन्।
खेलाडीलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटीटीका अध्यक्ष सुमन खड्गी, इटीटी टेबलटेनिसको छैटौं संस्करणका विजेता राजेन्द्र वज्राचार्य, अनिता महर्जन, मुकेश महर्जनलगायतले बिदाइ गरेका थिए।
बिदाइ कार्यक्रममा अध्यक्ष खड्गीले खेलाडीहरूलाई प्रतिस्पर्धापछिको फरक वातावरणमा आराम र उत्साह प्रदान गर्न भ्रमण उपयोगी हुने विश्वास व्यक्त गरे।

