हैदराबाद (भारत), १२ जुलाई। मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष प्रेम पौडेलले राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा र जनसंगठनको सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको बताएका छन्।
भारतको हैदराबादमा आइतबार आयोजित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मध्य–दक्षिण क्षेत्रीय महिला तथा विद्यार्थी विभागको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नेपालको सीमा, राष्ट्रिय हित र सार्वभौमिकताका विषयमा सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।
उनले नेपालको कालापानीलगायत सीमावर्ती क्षेत्रमा देखिएका सीमा विवादप्रति सरकारको पर्याप्त ध्यान नपुगेको आरोप लगाउँदै राष्ट्रिय भूमिको संरक्षणमा सबै नेपाली एकजुट हुनुपर्ने बताए।
सम्बोधनका क्रममा अध्यक्ष पौडेलले रुस–युक्रेन युद्ध तथा पश्चिम एसियामा जारी द्वन्द्वको उदाहरण दिँदै विश्वमा बढ्दो अस्थिरताले साना राष्ट्रहरू थप सतर्क हुनुपर्ने अवस्था सिर्जना गरेको उल्लेख गरे। उनले युद्ध र द्वन्द्वबाट आमनागरिकले ठूलो मानवीय क्षति व्यहोर्नुपरेको भन्दै शान्ति, राष्ट्रिय एकता र जनचेतनाको आवश्यकता औँल्याए।
देशभित्र बढिरहेका आत्महत्या, हत्या तथा अन्य आपराधिक घटनाप्रति चिन्ता व्यक्त गर्दै उनले सामाजिक विकृति रोक्न राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले बेरोजगारीका कारण ठूलो सङ्ख्यामा नेपाली युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारको ध्यान जानुपर्ने धारणा राखे।
अध्यक्ष पौडेलले वर्तमान राजनीतिक नेतृत्वको पनि आलोचना गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न राजनीतिक दलहरू असफल भएको टिप्पणी गरे। उनले विदेशी प्रभावबाट मुक्त भई राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले इतिहासमा जनताको जागरणबाट ठूला राजनीतिक परिवर्तन सम्भव भएको स्मरण गराउँदै अहिले पनि संगठित, सचेत र वैचारिक रूपमा सक्षम जनशक्ति निर्माण गर्नु समयको आवश्यकता भएको बताए ।
महिला तथा विद्यार्थी संगठनको भूमिकाबारे चर्चा गर्दै अध्यक्ष पौडेलले संगठन विस्तार, वैचारिक प्रशिक्षण र जनपरिचालनलाई थप प्रभावकारी बनाउन आग्रह गरे । उनले संगठनभित्र अनुशासन, अध्ययन, राजनीतिक चेतना र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै भविष्यका चुनौती सामना गर्न सक्षम संगठन निर्माण गर्नुपर्नेमा जोड दिए।
गुमा रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन माया थापाले गर्नुभएको थियो भने ममता कडायतले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा रक्तिम कलाकारद्वारा स्वागत गीत प्रस्तुत गरिएको थियो। साथै, विभिन्न आन्दोलनका सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्यहरू रतनसिंह कर्मा, फुलबिना पौडेल, भीमबहादुर थापा र कृष्णबहादुर थापा, मध्य–दक्षिण क्षेत्रीय उपाध्यक्ष गगनसिंह विक, क्षेत्रीय सचिव तिलक राना, कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य राजु दुलाल, उत्तर नगर समिति अध्यक्ष सूर्यबहादुर थापा तथा दक्षिण नगर समिति कोषाध्यक्ष भूपाल ठाडा रानालगायतको आतिथ्यता रहेको थियो ।
भेलाले सोबिता पौडेलको संयोजकत्वमा ५८ सदस्यीय मध्य–दक्षिण क्षेत्रीय महिला विभाग गठन गरेको छ। विभागमा गुमा राना, सम्झना दुलाल, ईश्वरा पौडेल, सङ्गीता केसी, बिजुला शर्मा, सीता थापा, कमला शर्मा, जमुना पौडेल, लक्ष्मी थापा, देवी थापा, लक्ष्मी केसी, अनु थापा, माया कुँवर, सिर्जना खत्री, देवी दुलाल, कृष्णकुमारी विक, मीना पुन, गङ्गा कडायत, देवी पौडेल, देवु केसी, शोभा कालाथोकी, कमला भट्टराई, उमा विष्ट, चन्द्रादेवी थापा, सान्ता विक, माया भुजेल, देवी पराजुली, माया थापा, तुलसी क्षेत्री, लीला शाही, रूपा बुचा, पार्वती गुरुङ, शर्मिला थापा, यशोदा न्यौपाने, सान्ता क्षेत्री, जमुना विक, लीला थापा, राधिका पौडेल, जुना थापा, मीना गुरुङ, मधु खड्का, राधा थापा, कलावती विक, समिता थापा, जमुना थापा, पुष्पा थापा, माया थापा, टीका थापा, गङ्गा चापागाईं, अमृता नेपाली, बसन्ती थापा, सुनिता विक, कुमारी थापा, निरु नेपाली, शर्मिला बस्नेत, मीना पुन र अनिता थापा सदस्य चयन हुनुभएको छ।
त्यसैगरी, भेलाले एक पद रिक्त राख्दै १५ सदस्यीय मध्य–दक्षिण क्षेत्रीय विद्यार्थी समिति गठन गरेको छ। समितिको अध्यक्षमा ममता कडायत, सचिवमा कुसुम क्षेत्री र कोषाध्यक्षमा समिता दुलाल चयन हुनुभएको छ। सदस्यहरूमा सिर्जना पौडेल, रोहित क्षेत्री, विशाल पौडेल, किरण थापा, करिश्मा थापा, निकिता विक, रिता थापा, सुप्रिया थापा, सुनिना भुजेल, प्रकाश थापा र गङ्गा केसी चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठनलाई वैचारिक, सांगठनिक र जनआधारित रूपमा अझ सुदृढ बनाउन आवश्यक रहेको बताए। उनीहरूले महिला, विद्यार्थी तथा श्रमिक समुदायलाई संगठित गर्दै राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, लोकतान्त्रिक अधिकार र जनपक्षीय आन्दोलनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रमा रक्तिमका कलाकारहरूले भव्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।