काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवाले शरीरमा मट्टितेल खन्याएर आत्मदाह गरेका छन् । मंगलबार बिहान आफ्नो जीउमा आगो लगाएका २४ वर्षीय विपिन बस्यालको उपचारका क्रममा मृत्यु भएको छ ।
रूपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीका अनुसार स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि गम्भीर अवस्थाका बस्याललाई पाल्पाको मिसन अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
ती युवक देवदह नगरपालिका–५, मितेरी टोलका हुन् । उनी मानसिक रोगी तथा लागुऔषधका दुर्व्यसनी रहेको बताइएको छ ।
आगो लगाउनुको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष पदमबहादुर थापाका अनुसार क्वारेन्टिन स्थल सफा गर्न राखिएको मट्टितेल जीउमा खन्याएर ती युवकले आगो लगाएका हुन् ।
क्वारेन्टिनमा देवदह वडा नम्बर ६, ७ र ८ का मानिसलाई राखिएको छ । जहाँ १५ पुरुष र २ महिला छन् । भारतबाट आएकालाई पनि सँगै राखिएको भन्ने कुरामा राति विवाद भएको जानकारी आएको वडाअध्यक्ष थापाले बताउनुभयो ।