बुटवल । लुम्बिनी प्रदेशको गौरव आयोजना अन्तर्गत निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढे पनि बजेट अभावका कारण निर्माण कम्पनीले समयमै भुक्तानी पाउन सकेको छैन।
प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार हालसम्म परियोजनाको ४५ प्रतिशत भौतिक प्रगति भएको छ भने निर्माण कम्पनीले पेस गरेको करिब ८३ करोड रुपैयाँ बराबरको बिल भुक्तानी हुन बाँकी छ। चालु आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बजेट विनियोजन गरिए पनि अघिल्लो वर्षको बक्यौता भुक्तानीमै ठूलो हिस्सा खर्च भएपछि कम्पनीले गत भदौयता उधारोमै काम गरिरहेको छ।
७ अर्ब १५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको १२ तले सुविधा सम्पन्न अस्पताल भवन २०८५ पुसभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। हालसम्म कुल ठेक्का रकमको २ अर्ब ९ करोड रुपैयाँ भुक्तानी भइसकेको छ भने कम्पनीले १ अर्ब २१ करोड रुपैयाँ पेस्कीसमेत प्राप्त गरिसकेको छ।
निर्माण सम्पन्न भएपछि अस्पतालको क्षमता हालको ५३० शय्याबाट बढेर १ हजार २०० शय्या पुग्नेछ। नयाँ भवनमा कार्डियोलोजी, न्युरोलोजी, ग्यास्ट्रोएन्टेरोलोजीलगायत विशिष्टीकृत स्वास्थ्य सेवा विस्तार गरिने योजना छ।
सरकारले सम्झौताअनुसार पर्याप्त बजेट विनियोजन गर्न नसक्दा भुक्तानीमा समस्या देखिए पनि निर्माण कार्य भने निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको सम्बन्धित निकायले जनाएको छ।