मध्यविन्दु (नवलपरासी), जेठ २८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा गएराति क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन्।
ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा अचानक ब्रेक फेल भएपछि सडकको बायाँ किनाराको भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।
दुर्घटनामा क्रेन चालक २५ वर्षीय निरज अस्रामी मगरसहित क्रेनमा सवार दिलबहादुर कुमाल, निर्मल दराई, पूर्णप्रसाद दराई, अर्जुनबहादुर दराई र अमर दराई घाइते भएका छन्। घाइते सबैको उपचार भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबाट क्रेनमा क्षति पुगेको छ भने सवारीसाधन घटनास्थलमै रहेको छ। घटनाको कारण र क्षतिको विस्तृत विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।