गलकोट (बागलुङ), २७ जेठ । आधुनिक प्रविधि गाउँ–गाउँसम्म पुगे पनि बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठ भने आज पनि परम्परागत पानी घट्टमै आफ्नो जीवनयापन गरिरहनुभएको छ। तीन दशकअघि सुरु गरेको पानी घट्ट व्यवसायलाई उहाँले निरन्तरता दिँदै ग्रामीण समुदायलाई सेवा प्रदान गरिरहनुभएको छ।
श्रेष्ठले करिब ३० वर्षअघि आफ्नै पहलमा स्थापना गरेको पानी घट्ट अहिले पनि सञ्चालनमा रहेको छ। गाउँमा विद्युतीय कुटानी–पिसानी मिल भित्रिए पनि स्थानीय बासिन्दाका लागि पानी घट्ट अझै अन्न पिस्ने भरपर्दो माध्यम बनेको छ।
“तीस वर्षअघि सुरु गरेको घट्ट आज पनि चलिरहेको छ। घरखर्च चलाउन र परिवारका लागि आवश्यक अन्न जुटाउन यही पेसाले साथ दिएको छ,” श्रेष्ठ भन्नुहुन्छ। “पहिले खरले छाएको घट्ट अहिले जस्तापाताले छाएको छु। मकै पिस्न छुट्टै र गहुँ तथा कोदो पिस्न छुट्टै घट्ट सञ्चालन गरेको छु।”
श्रेष्ठले अन्न पिसेबापत परम्परागत रूपमा ज्याला लिने प्रचलनलाई पनि कायम राख्नुभएको छ। उहाँका अनुसार अन्नमा ज्याला लिए एक पाथी बराबर पाँच मुठी अन्न लिने गरिन्छ भने नगदमा प्रतिपाथी १० रुपैयाँ शुल्क लिने गरिएको छ।
उमेर बढ्दै गए पनि परम्परागत पेसाप्रतिको मोह भने घटेको छैन। आधुनिक प्रविधिको विस्तारसँगै धेरै परम्परागत सीप र व्यवसाय लोप हुने अवस्थामा पुगेका बेला श्रेष्ठले भने आफ्नो पुर्ख्यौली सीपलाई जोगाउँदै आउनुभएको छ।
ग्रामीण भेगमा अझै पनि पानी घट्ट जीवनयापन र कृषि उत्पादनसँग जोडिएको महत्वपूर्ण साधनका रूपमा रहेको छ। पानीलाई पाइप वा काठको ढुङ्ग्रोमार्फत उच्च गतिमा खसालेर त्यसको बलले जाँतो घुमाई अन्न पिस्ने प्रविधिलाई पानी घट्ट भनिन्छ।
स्थानीय संस्कृतिसँग गाँसिएको यो परम्परागत प्रविधि आज पनि ग्रामीण जनजीवनको अभिन्न हिस्सा बनेको छ। तेजनारायण श्रेष्ठजस्ता व्यक्तिहरूको निरन्तरताले परम्परागत ज्ञान, सीप र जीवनशैलीलाई संरक्षण गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको छ।