तुलसीपुर (दाङ), २७ जेठ । राप्ती गाउँपालिकामा स्थापना गरिएको ‘एयर पोलुसन स्टेशन’ले स्थानीय स्तरमा वायु प्रदूषणको अवस्था मापन तथा विश्लेषण गर्न महत्वपूर्ण सहयोग पुर्याएको छ। अत्याधुनिक उपकरणमार्फत वातावरणको गुणस्तरबारे वास्तविक तथ्याङ्क प्राप्त हुन थालेपछि प्रदूषण नियन्त्रणका कार्यक्रम प्रभावकारी बनाउन सहज भएको गाउँपालिकाले जनाएको छ।
राप्ती गाउँपालिका कार्यालय परिसरमा जडान गरिएको उक्त स्टेशनले २४सै घण्टा वायुको गुणस्तर निगरानी गर्दै प्रदूषणसम्बन्धी तथ्याङ्क सङ्कलन गरिरहेको छ। यसबाट पालिकाभित्र उद्योग, सवारीसाधन तथा अन्य स्रोतबाट हुने प्रदूषणको अवस्था यथार्थ रूपमा मूल्याङ्कन गर्न सकिने भएको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार स्टेशनबाट प्राप्त तथ्याङ्कले वातावरण संरक्षण, वृक्षरोपण अभियान, सडक धुलो नियन्त्रण तथा जनस्वास्थ्यसँग सम्बन्धित योजना तर्जुमा र कार्यान्वयनमा महत्वपूर्ण आधार प्रदान गरेको छ।
“पालिकाभित्रको वायु प्रदूषणको वास्तविक अवस्था बुझ्न यस उपकरणले ठूलो सहयोग गरेको छ,” अध्यक्ष विष्टले भन्नुभयो, “यसबाट प्राप्त सूचनाका आधारमा प्रदूषण नियन्त्रण तथा वातावरण संरक्षणका कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने भएको छ।”
दुई वर्षअघि सङ्घीय सरकारको पहलमा स्थापना गरिएको उक्त स्टेशनमा करिब एक करोड रुपैयाँ बराबरको अत्याधुनिक उपकरण जडान गरिएको छ। स्थानीय तहमा वायु प्रदूषणको निगरानी तथा वातावरणीय व्यवस्थापनका लागि यो प्रविधि प्रभावकारी साधनका रूपमा स्थापित हुँदै गएको छ।
विज्ञहरूका अनुसार यस्ता उपकरणबाट प्राप्त तथ्याङ्कले स्थानीय सरकारलाई वैज्ञानिक आधारमा नीति निर्माण गर्न मद्दत पुग्नुका साथै वातावरणीय जोखिम न्यूनीकरण र जनस्वास्थ्य संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउँछ।