काठमाडौँ । प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहलाई २०८२ सालको ‘गोकुल बाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ ।
गण्डकी साहित्य सङ्गम पोखराले उहाँलाई सो पुरस्कार आगामी २०८३ जेठ ९ गते आयोजित औपचारिक समारोहमाझ वितरण गर्ने भएको हो ।
साहित्य सङ्गमका अनुसार समाजवादी यथार्थवाद र सामन्तवाद–साम्राज्यवाद विरोधी प्रगतिशील तथा देशभक्त साहित्यिक धारामा साधना गर्ने स्रष्टाद्रष्टालाई प्रेरणा, प्रोत्साहन एवम् सम्मान गर्न २०५२ सालदेखि राष्ट्रिय तहमा ४० हजार रुपियाँको ‘गोकुल बाङ्मय पुरस्कार’ र क्षेत्रीय तहमा २० हजार रुपियाँको ‘गण्डकी बाङ्मय पुरस्कार’ प्रदान गर्दै आएको छ ।
सो पुरस्कार प्रत्येक दुई वर्षमा एकपटक प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
२०८२ सालको ‘गोकुल बाङ्मय पुरस्कार’ का लागि प्रतिभा छनौट गर्न सङ्गमका कार्यसमिति सदस्य शोभाकान्त गौडेलको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिमा सङ्गमका सल्लाहकार डा. कृष्णराज अधिकारी र प्रगतिशील साहित्यकार डा. यदुनन्दन उपाध्यायसमेत तीन जना हुनुहुन्थ्यो ।
उक्त समितिले सर्वसम्मत सिफारिस गरेअनुरूप करिब छ दशकदेखि प्रगतिवादी साहित्यका फाँटमा निरन्तर साहित्य साधना गर्दै आएका स्रष्टा एवम् द्रष्टा मोहनविक्रम सिंहलाई ‘गोकुल वाङमय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार सन्तानब्बेऔँ गोकुल जयन्तीको अवसर पारेर पोखरामा आयोजित विशेष समारोहमा हस्तान्तरण गरिनेछ ।
१९९२ वैशाख ३ गते काठमाडौँको मरुटोलमा जन्मनुभएका मोहनविक्रम सिंहका प्युठानको किसान समस्या र सङ्घर्ष (राजनीतिक पुस्तक, २०११), इङ्कलाव जिन्दावाद (कवितासङ्ग्रह, २०१७), युग बोल्छ (गीतिनाटक, २०३४), विश्व कम्युनिस्ट आन्दोलनको सङ्क्षिप्त इतिहास (पुस्तक, २०३८), गङ्गाकावेरी एक्सप्रेस (लामो कविता, २०४०), झिमरुक नदी र चिबे चराको कथा (खण्डकाव्य, २०४२), विचार, विवेचना र विश्लेषण (समालोचना, २०४२), आदिविद्रोही (खण्डकाव्य, २०४२), १२ मे (नाटक, २०४६), महिला मुक्तिको महान गाथा (समालोचना, २०४८), कामरेड जलजला (उपन्यास, २०८१) लगायतका पुस्तक प्रकाशित छन् ।
‘गोकुल बाङ्मय पुरस्कार’ द्वारा यसभन्दा पहिले केवलपुरे किसान (२०५२), खगेन्द्र सङ्ग्रौला (२०५४), गोविन्द भट्ट ( २०५६), श्यामप्रसाद शर्मा (२०५८), रमेश विकल (२०६०), निनु चापागाईं (२०६२), मोहन वैद्य (चैतन्य) (२०६४), आनन्ददेव भट्ट (२०६६), घनश्याम ढकाल (२०६८), मोदनाथ प्रश्रित (२०७०), हरिहर खनाल (२०७२), जीवन शर्मा (२०७४), डा. ऋषिराज बराल (२०७८) र ईश्वरचन्द्र ज्ञवाली (२०८०) पुरस्कृत भइसकेको जानकारी संस्थाका सचिव नारायण मरासिनीले दिनुभयो ।

