• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नेपाली राजनीतिमा नैतिकताको खडेरी र दुइ निष्ठावान पात्र


  •   शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
  • गणेश आचार्य

    Advertisement

    नेपाली राजनीतिको लामो र आरोह–अवरोहपूर्ण कालखण्डलाई फर्केर हेर्दा केही यस्ता पात्रहरू भेटिन्छन्, जो समयको प्रवाहसँगै बगेर हराएनन्, बरु आफ्‌नै अडान र नैतिकताको चट्टान बनेर उभिरहे । ती मध्ये मोहनविक्रम सिंह र चित्रबहादुर केसी यस्ता नाम हुन्, जसलाई नेपाली राजनीतिको ’नैतिक मानक’ मान्दा अत्युक्ति हुँदैन । आजको समयमा जहाँ राजनीतिलाई सत्ता, शक्ति र सम्पत्ति आर्जनको माध्यम बनाइएको छ, त्यहाँ यी दुई नेताको जीवनशैली र वैचारिक निष्ठा एक अपवादका रूपमा देखा पर्छ । कुनै पनि राजनीतिक आन्दोलनको मूल मर्म भनेकै विचारप्रतिको अविचलित अडान, व्यक्तिगत स्वार्थको त्याग र राष्ट्रप्रतिको अगाध प्रेम हो । यी कसीमा घोत्लेर हेर्दा यी दुई नेता समकालीन राजनीतिका अन्य पात्रहरूभन्दा निकै माथि र सम्मानित देखिन्छन । आजको राजनीतिमा पदका लागि सिद्धान्त बेच्ने र शक्तिका लागि राष्ट्रिय हितमा सम्झौता गर्ने प्रवृत्ति महारोगका रूपमा फैलिएको छ, जसले गर्दा आम जनतामा राजनीतिप्रति नै वितृष्णा पैदा भएको छ । यस्तो विषाक्त र निराशाजनक वातावरणमा यी दुई नेताले आफ्नो सम्पूर्ण जीवन जसरी सादगी र वैचारिक स्पष्टतामा बिताए, त्यसले उनीहरूलाई आलोचनाभन्दा पनि प्रशंसा र अनुकरणको पात्र बनाएको छ ।

    मोहनविक्रम सिंह नेपाली कम्युनिष्ट आन्दोलनका यस्ता वैचारिक प्रणेता हुन्, जसले सात दशकभन्दा लामो समय केवल सिद्धान्तको खेतीमा बिताए । उनको राजनीतिक चरित्रको सबैभन्दा सबल पक्ष भनेको ’आदर्शप्रतिको कठोरता’ हो । धेरै नेताहरू क्रान्तिको कुरा गर्दागर्दै विलासी जीवन र पुँजीवादी सुखभोगमा डुबे, तर सिंहले कहिल्यै आफ्नो वर्ग धरातल छोडेनन् । एउटा राजनीतिकर्मीमा हुनुपर्ने सबैभन्दा ठूलो गुण भनेको उसको बोली र व्यवहारमा हुने एकरूपता हो । उनले जेलाई सही ठाने, त्यसका लागि एक्लै उभिन पनि तयार भए । यो सानो हिम्मतको कुरा होइन । आजको राजनीतिमा नेताहरू बिहान एउटा र बेलुका अर्को कुरा गर्छन्, तर सिंहले दशकौँअघि अगाडि सारेका कतिपय अडानहरू आज पनि उत्तिकै दृढ छन् । यो उनको वैचारिक इमानदारीताको पराकाष्ठा हो । उनले आफ्नो संगठनलाई सत्ता प्राप्तिको भर्‍याङ बनाएनन्, बरु जनतालाई राजनीतिक रूपमा सचेत गराउने एउटा पाठशालाका रूपमा विकसित गरे । नेपालको कम्युनिष्ट आन्दोलनमा धेरै विभाजन भए, धेरै नेताहरू अवसरको खोजीमा यताउता भौँतारिए, तर मोहनविक्रम सिंह आफ्नो ’मसाल’ बोकेर वैचारिक स्पष्टताको बाटोमा हिँडिरहे ।

    उनको देशभक्ति भावना कुनै उग्र नारामा मात्र सीमित छैन, बरु नेपालको भू–राजनीतिक संवेदनशीलतालाई बुझेर राष्ट्रिय स्वाधीनताका पक्षमा अविचलित उभिनुमा देखिन्छ । उनले पहिला भारतीय विस्तारवाद र अहिले सम्पुर्ण साम्राज्यवादी शक्तिका विरुद्धमा जे–जति वैचारिक दस्तावेजहरू तयार पारे, ती आज पनि नेपाली राजनीतिका लागि महत्वपूर्ण सन्दर्भ सामग्री हुन् । मोहनविक्रमले कहिल्यै पनि सत्ताको चास्नीमा डुबेर राष्ट्रिय स्वार्थलाई बिर्सेका छैनन् । उनले प्रतिपादन गरेको ’अर्धसामन्ती र अर्धऔपनिवेशिक’ अवस्थाको विश्लेषण होस् वा संघीयताको सवालमा राखेको दृष्टिकोण, त्यहाँ केवल राजनीतिक दाउपेच होइन, बरु देशको दीर्घकालीन हितको चिन्ता देखिन्छ । उनको व्यक्तिगत नैतिकता यति उच्च छ कि उनलाई आलोचना गर्नेहरूले पनि उनको आर्थिक अपारदर्शिता वा व्यक्तिगत भ्रष्टताको एउटा पनि प्रमाण भेटाउन सक्दैनन् । एउटा कम्युनिष्ट नेताले आफ्नो जीवनलाई कति सादा र विचारलाई कति उच्च राख्न सक्छ भन्ने कुरा मोहनविक्रमको जीवनबाट सिक्न सकिन्छ । उनी सत्ताका लागि मरिहत्ते गर्नेहरूको भीडमा सधैँ टाढा रहे र वैचारिक शुद्धताको पहरेदार बनेर बसे ।

    चित्रबहादुर केसीको प्रसङ्ग आउँदा नेपाली मानसपटलमा एउटा यस्तो नेताको तस्बिर झल्किन्छ, जसले ’राजनीतिक नैतिकता’ लाई आफ्नो जीवनको पर्याय बनाएको छ । संसदीय राजनीतिलाई भ्रष्ट र फोहोरी खेल मान्ने आम धारणाका बीच केसीले त्यही संसदमा बसेर नैतिकताको सुगन्ध छरे । उपप्रधानमन्त्री जस्तो शक्तिशाली पदमा रहँदा पनि उनले राज्यको एउटा सानो सुविधालाई समेत व्यक्तिगत वा पारिवारिक हितमा प्रयोग गरेनन् । यो तहको इमानदारी आजको ’कमिसन र भ्रष्टाचार’ को युगमा दन्त्यकथा जस्तो लाग्छ । धेरै नेताहरू पदमा पुगेपछि महल बनाउने र सात पुस्तालाई पुग्ने सम्पत्ति थुपार्ने ध्याउन्नमा लाग्छन्, तर केसी आज पनि सामान्य डेरामा बसेर राष्ट्रियताको वकालत गरिरहेका छन् । उनको यो सादगी कुनै देखावटी ढोंग होइन, बरु उनको राजनीतिक आदर्शको एउटा अभिन्न हिस्सा हो । राष्ट्रियताका सवालमा उनले कहिल्यै कसैसँग सम्झौता गरेनन् । संघीयताको विरोध गर्दा उनले जुन तर्कहरू अघि सारेका थिए, आज संघीयताको बोझ र यसमा देखिएका विकृतिहरूले उनकै दूरदर्शिताको पुष्टि गरिरहेका छन् । ’देश रहे मात्र राजनीति रहन्छ’ भन्ने उनको मूल मन्त्रले उनलाई एक सच्चा देशभक्तको रूपमा स्थापित गरेको छ ।

    केसीको भाषणमा पाइने जाँगर, संसदमा उनले गर्ने तर्कपूर्ण बहस र भ्रष्टाचारका विरुद्ध उनको गर्जनले नै नेपाली संसदको गरिमा अलिकति भए पनि जोगिएको महसुस भएको थियोे । उनले सार्वजनिक सवारीसाधनको प्रयोग गर्ने, झुपडीमा बस्ने र सामान्य कार्यकर्ता जस्तै जीवन बिताउने जुन शैली अपनाए, त्यो आधुनिक नेपालका विलासी नेताहरूका लागि एउटा ठूलो व्यङ्ग्य हो । उनी कहिल्यै पनि पदको लोभमा परेर आफ्नो अडानबाट पछि हटेका छैनन् । चित्रबहादुर केसीको देशभक्ति भावना उनको भाषणमा मात्र होइन, उनको हरेक क्रियाकलापमा झल्किन्छ । उनी विदेशी हस्तक्षेपका विरुद्ध सधैँ खरो उत्रन्छन् र नेपालको मौलिक पहिचानको रक्षाका लागि अडिग रहन्छन् । उनको यो इमानदारीले नै उनलाई जनताको हृदयमा एउटा विशेष स्थान दिएको छ । जहाँ अन्य नेताहरू सत्ताका लागि आफ्नो अडान फेरिरहन्छन्, केसीले भने प्रतिकूल परिस्थितिमा पनि आफ्नो निष्ठाको झण्डा झुक्न दिएनन् ।

    समकालीन नेपाली राजनीतिमा अन्य पात्रहरूको स्खलनलाई हेर्दा, उनीहरूले राजनीतिलाई एउटा कमाउने पेसा र सत्तालाई भोगविलासको साधन बनाएका छन् । हिजोका सहिदका सपना र भोका नाङ्गा जनताका पीडा आजका ठूला भनिएका नेताहरूका लागि केबल चुनावी नारा मात्र बनेका छन् । पद र पैसाका लागि जस्तोसुकै अपवित्र गठबन्धन गर्न तयार हुने र आफ्नै सिद्धान्तको तिलाञ्जली दिने पात्रहरूको भीडमा मोहनविक्रम र चित्रबहादुर केही ’पुराना’ वा ’परम्परावादी’ देखिनु स्वाभाविक हो । तर, यो ’पुराना’ देखिनु उनीहरूको कमजोरी होइन, बरु उनीहरू आजको विकृत राजनीतिमा नमिलेका सफा र चम्किलो पात्र हुन् । उनीहरूले राजनीतिमा कहिल्यै पनि ’अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण’ हुन दिएनन् । उनीहरूका लागि राजनीति एउटा पवित्र सेवा र देशप्रतिको दायित्व हो । धेरै नेताहरूले क्रान्तिको नाममा जनताका छोराछोरीलाई सडकमा उतारे, तर सत्तामा पुगेपछि आफ्नै परिवार र नातागोतालाई मात्र पोस्ने काम गरे । यसको ठिक विपरित, मोहनविक्रम र चित्रबहादुरले आफ्नो परिवारलाई कहिल्यै राजनीतिका नाममा लाभको पदमा पुर्‍याएनन् । यो नै वास्तविक राजनीतिक चरित्र हो, जुन आजका अन्य नेताहरूमा कतै भेटिँदैन ।

    कुनै पनि राजनीतिक आन्दोलनको सफलता केवल सत्ता प्राप्तिमा मात्र हुँदैन, बरु त्यसले समाजमा कस्तो नैतिक प्रभाव छोड्छ भन्ने कुरामा हुन्छ । मोहनविक्रम र चित्रबहादुरले आफ्नो राजनीति मार्फत एउटा सन्देश दिएका छन्— राजनीति निष्ठाले गरिन्छ, लोभले होइन । उनीहरूले जतिसुकै कठिन परिस्थितिमा पनि आफ्नो इमान बेचेनन् । पञ्चायत कालको कठोर दमन होस् वा बहुदलपछिको सत्ताको प्रलोभन, उनीहरू आफ्नो स्थानमा अविचलित रहे । आजका नेताहरूमा देशभक्तिको भावना केबल विदेशी शक्तिलाई गाली गर्ने अस्त्रका रूपमा मात्र प्रयोग हुन्छ, तर भित्रभित्रै उनीहरू उही शक्ति केन्द्रहरूको आशीर्वाद खोजिरहेका हुन्छन् । तर सिंह र केसीले सधैँ खुला रूपमा राष्ट्रिय स्वार्थको वकालत गरे र त्यसका लागि मूल्य चुकाउन पनि तयार भए । उनीहरूको देशभक्ति उनीहरूको व्यवहारमा झल्किन्छ, उनीहरूको सादगीमा देखिन्छ र उनीहरूको पारदर्शी जीवनमा प्रमाणित हुन्छ । उनीहरूले कहिल्यै पनि राष्ट्रिय अखण्डता र स्वाधीनताको सवालमा द्विअर्थी कुरा गरेनन् ।

    नेपाली जनताले आज खोजेको नेता ठूला महलमा बस्ने वा विदेशी गाडीमा घुम्ने र जनतालाई सपनाको आश्वासन बाँड्ने जादुगर होइन, बरु जनभावना बुझ्ने र देशको माटोप्रति इमानदार हुने पात्र हो । मोहनविक्रम सिंह र चित्रबहादुर केसीले देखाएको बाटो कठिन अवश्य छ, तर यो बाटोले नै अन्ततः देशलाई सही दिशामा डोर्‍याउन सक्छ । उनीहरूको देशभक्ति र इमानदारीमाथि शङ्का गर्ने ठाउँ कतै छैन । उनीहरूले आफ्नो व्यक्तिगत सुख र परिवारको भविष्यभन्दा माथि देश र जनताको भविष्यलाई राखे । यो त्याग र समर्पण नै राजनीतिक आन्दोलनको वास्तविक मर्म र प्राण हो । आजका युवा पुस्ताले उनीहरूका कतिपय पुराना कार्यनीतिसँग विमति राख्न सक्लान्, उनीहरूको वैचारिक अडानलाइ लिएर आलोचना गर्न सक्लान्, तर उनीहरूको चरित्र र नैतिकताको अगाडि सबैले शिर झुकाउनै पर्छ । किनकि, आजको संसारमा सबैथोक किन्न सकिन्छ तर ’निष्ठा’ र ’चरित्र’ किन्न सकिँदैन, जुन यी दुई नेताको सबैभन्दा ठूलो सम्पत्ति हो । उनीहरूले राजनीतिलाई व्यवसाय होइन, बरु एक पवित्र मिसनका रूपमा बुझे र त्यही अनुरूप जीवन व्यतीत गरे ।

    तसर्थ, समकालीन नेपाली राजनीतिमा उनीहरू आलोचना गर्न लायक पात्र हुँदै होइनन् । बरु, उनीहरू त ती दुर्लभ पात्र हुन् जसको जगमा उभिएर भोलिको पुस्ताले नैतिकताको राजनीति सिक्नुपर्छ । यदि उनीहरूजस्तै इमानदार र देशभक्त नेताहरू अन्य ठूला दलमा पनि भइदिएको भए आज देशको अवस्था यो दुर्गतिमा पुग्ने थिएन । उनीहरूको वैचारिक अडानले नै नेपाली राजनीतिमा अझै पनि थोरै भए पनि लाज र मूल्य–मान्यता बाँकी राखेको छ । सत्ताको भोक नभएका, सिद्धान्तमा स्पष्ट भएका र राष्ट्रियताका लागि सधैँ सजग रहने यी दुई नेता नेपाली राजनीतिक इतिहासका यस्ता अमूल्य निधि हुन्, जसको मूल्य समयले झन् बढाउँदै लैजानेछ । उनीहरूको जीवन र संघर्षले यो सिकाउँछ कि राजनीतिमा सफलता भनेको सत्ताको कुर्सी र शक्तिको उन्माद होइन, बरु जनताको हृदयमा कमाइने सम्मान, इतिहासले गर्ने उच्च मूल्यांकन र आफूले बोकेको विचारप्रतिको इमानदारी हो । इमान र आदर्शको खडेरी परेको यो मरुभूमि जस्तो राजनीतिमा मोहनविक्रम सिंह र चित्रबहादुर केसी शीतल छहारी र सफा मुहानका रूपमा सदैव जीवित रहनेछन् ।

    कुनै पनि राजनीतिक आन्दोलनको अन्तिम उद्देश्य मानवीय मुक्तिको बाटो खोल्नु हो । मोहनविक्रम सिंहले आफ्ना लेख र दर्शन मार्फत नेपाली समाजको वर्ग विश्लेषण गर्दै मुक्तिका मार्गहरू पहिल्याउने प्रयास गरे । उनको यो प्रयासमा कुनै व्यक्तिगत स्वार्थ लुकेको छैन । त्यसैगरी चित्रबहादुर केसीले संसदीय मञ्चलाई जनताको वास्तविक आवाज बुलन्द गर्ने थलोका रूपमा प्रयोग गरे । उनीहरूको यो निष्ठाले नेपाली राजनीतिमा एउटा यस्तो मानक खडा गरेको छ, जुन भविष्यका पुस्ताका लागि सधैँ प्रेरणाको स्रोत बनिरहनेछ । उनीहरूको चरित्रको आलोचना गर्नु भनेको वास्तवमा नैतिकताकै उपहास गर्नु हुनेछ । त्यसैले उनीहरू आलोचनाभन्दा धेरै माथि सम्मान र प्रेरणाका अजय स्रोत हुन् । राजनीतिमा पात्रहरूको स्खलन तब हुन्छ जब उसले आफ्नो आदर्शलाई सुविधासँग साट्न थाल्छ । तर यी दुई पात्रले कहिल्यै आफ्नो आदर्शलाई सुविधाको वस्तु बनाएनन् । उनीहरूको राजनीतिक चरित्रमा देशभक्तिको जुन गाढा रङ छ, त्यो आजका ’मौसमी राष्ट्रवादी’ हरूमा देख्न पाइँदैन । उनीहरूले राजनीतिलाई आफ्नो व्यक्तित्व निर्माणको साधन होइन, बरु समाज र राष्ट्रको रूपान्तरणको हतियार बनाए ।

    जबसम्म नेपालमा राष्ट्रियता, नैतिकता र इमानदारीको बहस चल्नेछ, तबसम्म मोहनविक्रम सिंहको वैचारिक दृढता र चित्रबहादुर केसीको नैतिक निष्ठाको चर्चा भइरहनेछ । उनीहरूले छोडेको पदचिह्न नै भोलिको इमानदार राजनीतिको मुख्य मार्गचित्र बन्न सक्छ । नेपाली राजनीतिका यी दुई शिखर व्यक्तित्वहरू केवल एउटा पार्टीका नेता मात्र होइनन्, बरु उनीहरू सिंगो देशको नैतिक सम्पत्ति हुन् । उनीहरूको सादगी, देशभक्ति र सिद्धान्तप्रतिको निष्ठाले नै उनीहरूलाई समकालीन राजनीतिमा आलोचनाभन्दा माथि र सम्मानको शिखरमा राखेको छ । उनीहरूले स्थापित गरेको इमानदारीको यो विरासतलाई जोगाउनु नै आजको समयको सबैभन्दा ठूलो राजनीतिक धर्म हो । यी दुई महान् पात्रहरूको जीवनगाथा नै नेपाली राजनीतिको वास्तविक आदर्श हो ।

    शनिबार, बैशाख १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    जनजाति मुक्ति आन्दोलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.