काठमाडौँ । सरकारले ल्याएको अध्यादेशले सत्तासिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र नै बबाल उत्पन्न भएको बुझिन्छ । उक्त पार्टीका सांसद गणेश कार्कीले आज बुधबार विहान सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेका छन् ।
यो स्टाटसले पार्टी भित्र नै अध्यादेशमार्फत ल्याउन खोजिएको विधेयकमाथि नै मतभेद भएको बुझिन्छ । कार्कीले अध्यादेशको खुलेरै विरोध गरेका छन् । उनले दुई तिहाई बहुमत भएको सरकारलाई अध्यादेशमार्फत विधेयक ल्याउनु पर्न बाध्यता बारे पनि प्रश्न उठाएका छन् ।
‘……झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन ।’ सांसद कार्कीले लेखेका छन्– ‘विधिको प्रश्न र जवाफदेहीताको अपेक्षाले मित्रताको मिठासलाई बेस्वादिलो बनाउँदैन भन्ने बुझेका सबैप्रति सम्मान र प्रेम छ ।’
कार्कीले अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा नभएको बताएका छन् । उनी मोरङ् निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।
सांसद कार्कीको उक्त धारणाले यो स्पष्ट हुन्छ कि, सरकारले अध्यादेश मार्फत ल्याउन लागेको विधेयक संसदबाट पारित नहुने आशंकाले त कतै प्रधानमन्त्रीलाई सताइरहेको त छैन ?