महेन्द्रनगर । अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ ।
कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन नसकेपछि झ्यालको सिसा फोरेर पेट्रोल छर्किइ आगजनी गरिएको छ ।
सिंहका अनुसार राष्ट्रिय परिचय पत्र वितरण गर्न ल्याइएका उपकरणमा समेत आगजनीबाट क्षति भएको छ । सुरक्षाकर्मीको टोली वडा कार्यालयमा पुगेर क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको वडाध्यक्ष सिंहले जानकारी दिनुभयो ।
केही दिन अघि मात्रै धनगढीका विभिन्न स्थानमा अज्ञात समूहले बम राखेको थियो भने घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा आगजनी गरेको थियो ।
यो पनिः कैलालीको ठाउँ-ठाउँमा बम, नगरपालिकाको गाडीमा आगजनी

