काठमाडौँ । भोटेकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला बिपत् व्यवस्थापन समितिको तर्फबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले २०७७ साउन ५ गते सूचना जारी गर्दै यस्तो चेतावनी दिइएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको हस्ताक्षरमा जारी सूचनामा चीनको खासा क्षेत्रमा रहेको “केरुङच्छो” नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई सो ताल फुट्न सक्ने बताइएको छ । न्यालम क्षेत्रमा अहिले पनि अत्यधिक वर्ष भइरहेकाले उक्त ताल फुट्न सक्ने जानकारी चीनद्वारा दिइएकोसमेत उक्त सूचनामा उल्लेख छ ।
उक्त पोखरी फुट्न गएमा भोटेकोशी नदीमा आकस्मिक रूपमा पानीको वहाब अत्यधिक बढ्न जाने र त्यसकारण नदीकिनारमा रहेका भोटेकोशी गाउँपालिका, बाह«बिसे नगरपालिकालगायत स्थानीय तहका बजार मानवबस्ती बगाउन सक्ने तथा ठुलो क्षति पु¥याउन सक्ने सम्भावना व्यक्त गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सम्भावित उक्त क्षतिबाट बच्न त्यस क्षेत्रमा बस्ने व्यक्ति, स्थानीय तहलगायत सम्पूर्ण सरोकारवाला व्यक्ति तथा सङ्घसंस्थासित सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न र भोटेकोशी नदीकिनारका बस्तीमा रहेका सर्वसाधारणलाई तत्कालै उक्त क्षेत्र छोडी सुरक्षित जानसमेत आग्रह गरिएको छ ।