चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत चारकिलो, कालीखोलामा गएको पहिरोले सडक अवरुद्ध भएको छ । सोमबार बिहानै पहिरो खस्दा सवारी आवागमन ठप्प भएको छ प्रहरीले जनाएको छ ।
नारायणगढ-मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो ठूलो भएकाले सोमबार दिनभरजसो नै सडक अवरुद्ध हुने सम्भावना रहेको बताउनुभयो । तत्कालका लागि यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो।
नारायणगढ-मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।
यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् । पहिरोका कारण राजधानी काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने यातायात तथा तराईबाट पोखरा तर्फको यातायात पनि ठप्प छ ।

