टेकराज भुसाल,
अर्घाखाँची । नेपालमा हरेक वर्ष करिब दुई हजार एक सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ । जसमध्ये एक हजार तीन सय १३ जनाको मृत्यु यही क्यान्सरकै कारण हुने गरेको तथ्याङ्कले देखाएको छ । महिलाको जीवनसँग प्रत्यक्ष जोडिएको यसगम्भीर समस्याबाट बच्न प्रभावकारी उपायका रूपमा एच.पि.भि. (ह्युमन प्यापिलोमा भाइरस) खोपलाई महत्वपूर्ण मानिएको छ ।
यही सन्दर्भमा ढाकावाङ स्वास्थ्य चौकीमा एच.पि.भि. खोप अभियानलाई सफल पार्ने उद्देश्यसहित सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा सरोकारवालाहरूबीच बैठक सम्पन्न भएको छ ।
ढाकावाङ स्वास्थ्य चौकीमा सम्पन्न उक्त बैठकमा स्वास्थ्य चौकी प्रमुख रञ्जिता रायमाझीले सहजीकरण गर्दै एच.पि.भि. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा पाठेघरको मुखको क्यान्सर रोकथाममा खोपको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो । उहाँले लक्षित समूहसम्म सही सूचना पुर्याउन समुदायस्तरको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
बैठकले एच.पि.भि. खोप अभियान माघ २७ गते विश्व माध्यमिक विद्यालय, माघ २८ गते बालशिक्षा माध्यमिक विद्यालय र माघ २९ गते ढाकावाङ स्वास्थ्य चौकीमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानलाई प्रभावकारी बनाउन सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, खोप समन्वय समिति तथा स्थानीय सरोकारवालाहरूले आ–आफ्नो भूमिका सक्रिय रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य चौकीका अनुसार एच.पि.भि. खोप पाठेघरको मुखको क्यान्सरबाट बचाउने सुरक्षित र प्रमाणित उपाय हो । त्यसैले लक्षित उमेर समूहका किशोरीहरूलाई खोप सेवा सुनिश्चित गर्न अभिभावक, विद्यालय तथा समुदायको सहकार्य आवश्यक रहेको बैठकले निष्कर्ष निकालेको छ ।
स्थानीयस्तरबाट सुरु गरिएको यस अभियानले महिलाको स्वास्थ्य सुरक्षा र भविष्यमा क्यान्सरको जोखिम न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।