सञ्जय आचार्य
आज स्वास्थ्य बिमा बोर्डले बिमामार्फत वार्षिक ओपिडी सेवा रु. २५ हजारमा सीमित गर्ने निर्णय गरेको खबर देखेँ । खबर पढ्नेबित्तिकै मेरो दिमागमा एउटै अनुहार आयो– मेरो अस्पताल फार्मेसीमा बिमाबाट नियमित औषधी लिन आउने ६७ वर्षका एक बुबा ।
म काम गर्ने अस्पतालको फार्मेसीमा केही नियमित बिरामीहरू आउनुहुन्छ । भिड धेरै हुने भएकाले सबैसँग चिनजान र गफगाफ सम्भव हुँदैन तर कहिलेकाहीँ भिड कम हुँदा, औषधी दिँदै गर्दा सानो संवाद हुन्छ । त्यही संवादले कतिपय बिरामी केवल ‘कार्ड नम्बर’ मा सीमित हुँदैनन्, आत्मीय बनाइदिन्छ ।
उहाँको आर्थिक अवस्था निकै कमजोर छ तर रोग भने धनीगरिब हेरेर आउँदैन । उहाँलाई मधुमेह छ, गम्भीर खालको । बिहानबेलुका गरी दिनमा ४० युनिट इन्सुलिन ग्लारजिन चाहिन्छ । महिनाको हिसाब गर्दा १,२०० युनिट अर्थात् ४ ओटा काट्र्रिज । एक काट्र्रिजको बिमामा करिब रु. १००० पर्छ । मतलब महिनाको रु. ४००० त इन्सुलिनमै सकिन्छ । त्यसमाथि ओग्लिबोस, मेटफोर्मिन र ग्लिम्मेपिराइडजस्ता औषधी छुट्टै छन् । यी सबै जोड्दा उहाँलाई महिनाको करिब रु. ५,००० बराबरको औषधी चाहिन्छ ।
कथा यहाँ सकिँदैन । उहाँकी श्रीमती पनि मुटु र दमजस्ता दीर्घरोगकी बिरामी हुनुहुन्छ । उहाँका लागि पनि महिनाको करिब रु. २००० औषधी लाग्छ । तीन तीन महिनामा रगतजाँच । कहिलेकाहीँ घरपरिवारका अरू सदस्य बिरामी । यी सबैको एउटै भरोसा छ, स्वास्थ्य बिमा ।
अब हिसाब गरौँ, वार्षिक रु. २५ हजारको सीमा भनेको उहाँको परिवारका लागि तीन महिना पनि औषधी र जाँच खर्च धान्न मुस्किल पर्ने रकम हो, बाँकी ९ महिना कसरी टार्नुहुन्छ होला ?
म फार्मेसीको काउन्टरपछाडि उभिएर यो सोच्दै थिएँ– बिमा सकिएपछि उहाँ के गर्नुहोला ? औषधी आधा खाएर छोड्नुहोला ? इन्सुलिन घटाउनु होला ? जाँच नगरी बस्नुहोला ?
उत्तर मलाई थाहा छ, उहाँजस्तै धेरै बिरामीले “बिमाको पैसा सकियो” भनेपछि औषधी रोक्छन् किनभने विकल्प हुँदैन ।
हो, आजको निर्णयले पैसा भएर पनि “बिमा छ” भनेर अनावश्यक जाँच गराउने केही बिरामीका कारण भएको खर्च घटाउन सक्छ तर त्यसैसँगै हजारौँ गम्भीर दीर्घरोगी, जो साँच्चिकै स्वास्थ्य बिमामा आश्रित छन्, उनीहरूको अतिरिक्त खर्चको जिम्मा कसले लिन्छ ?
नीति कागजमा सन्तुलित देखिन सक्छ तर फार्मेसीको काउन्टरमा उभिँदा मलाई त्यो नीति होइन, ६७ वर्षको त्यो बुबाको अनुहार देखिन्छ।
अन्त्यमा एउटै प्रश्न बाँकी रहन्छ : के स्वास्थ्य बिमाको उद्देश्य यही हो वा यस्तो हुनै नदिन यो कार्यक्रम सुरु गरिएको थियो ?
मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का फार्मेसी अधिकृत आचार्यको यो सामग्री हामीले स्वास्थ्य खबर डट कमबाट लिएका हौँ । शीर्षक परिवर्तन गरिएको छ ।