काठमाडौं । अखिल नेपाल फुटवल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनालाई धम्की दिएका छन् । पूर्व अध्यक्ष थापा र उनका छोरा अभिषेक थापाले पत्रकार तिमिल्सिनलाई गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
पत्रकार तिमल्सिनाका अनुसार बिहीबार साँझ समाचारका लागि टेलिफोनबाट वार्ता गर्ने क्रममा पूर्वअध्यक्ष थापाले गालीगलौज र अभद्र व्यवहार गरेका थिए भने थापाका छोरा अभिषेकले थापाथलीस्थित हाम्रो खेलकुद डटकमकको कार्यालय परिसरमै गएर पत्रकार तिमल्सिनासँग वादविवाद गर्दै अभद्र व्यवहार गरेका थिए ।
पेशागत धर्म निर्वाहका क्रममा रहेका पत्रकारलाई एउटा जिम्मेवार पदमा रही काम गरिसकेका व्यक्ति र परिवारका सदस्यबाट भएको यो हर्कत आफैंमा निन्दनीय र दुःखद् विषय भएको भन्दै यस्ता कार्यले पत्रकारको संवैधानिक अधिकार र सम्मानमा आघात पुग्ने महासंघले ठहर गरेको छ ।
महासंघले प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता हर्कत नदो(याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।