काठमाडौँ । करिब ६८ लाखले सक्रिय सहभागिता जनाइरहेको स्वास्थ्य बीमा कार्यक्रमबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अघिल्लो साता आफूलाई अलग्याएको सूचना जारी गरेको थियो । बीमा कार्यक्रमबाट त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पाउनु पर्ने रकम वकाए धेरैभएको कारण अलगिएको भन्ने समाचार आएको थियो । तर त्यसको वास्तविकता अरु केही रहेको पाइएको छ ।
‘हामीले बीमावापत पाउन बाँकी रकम नै ४० करोड रुपैयाँ नाघिसक्यो। अझ विपन्न नागरिकहरूलाई दिएको सेवावापत पनि १५ करोड बक्यौता भइसक्यो । तर यो पनि हामीले सेवा रोक्नुपर्नाको मुख्य कारण होइन ।’ प्राध्यापक डा सुवासप्रसाद आचार्यले मिडियाक्रमीसँग कुरा गर्दै– ‘ती बक्यौता त सरकारले कुनै दिन फिर्ता देला भनेर आश गर्न सकिन्थ्यो । मुख्य कारण चाहिँ हाम्रा धेरै दाबी अस्वीकृत हुनु हो।’
‘महिनामा हाम्रो साढे ४ देखि ६ करोड रुपैयाँसम्म खर्च हुने गरेकोमा डेढदेखि २ करोडको दाबी अस्वीकृत हुन थाल्यो। त्यो त हामीले धान्न सक्दैनौँ। त्यसैले पैसाभन्दा पनि स्वास्थ्य बीमा बोर्डको नीतिले नै हामीलाई मार पर्यो ।’ डा आचार्यले भने– ‘निमोनिया भएको बिरामी आफ्नो अस्पताल आउँदा सात दिन आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति हुने र कतिपयलाई लगभग डेढ लाख खर्च हुने तर बोर्डले त्यसको सोधभर्ना १५ हजार रुपैयाँमा सीमित गरिदिएको छ ।’