काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई जारी गरिएको प्रेस पास नवीकरण गर्न समस्या भएको भन्दै नवीकरण नहुँदासम्म सिंहदरबार प्रवेशलगायत आवत जावत सहज बनाउन माग गरेको छ । साथै, प्रेस पास नवीकरणलाई सहज र छिटो तरिकाबाट गर्ने व्यवस्था मिलाउन पनि महासंघले आग्रह गरेको छ ।
पत्रकारलाई जारी गरिएको प्रेस पासको अवधि असार मसान्तबाट सकिएको र नवीकरण गर्न सहज नहुँदा राज्यको प्रमुख कार्यालय रहेको सिंहदरबार प्रवेशमा पत्रकारहरुलाई रोक लगाइनुको साथै आवत–जावतमा समेत समस्या परेको महासंघले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
‘कोभिड–१९ संक्रमणको जोखिम मोलेर पेशागत कर्म निर्वाहमा जुटेका पत्रकारहरुको प्रेस पास नवीकरण समयमै नहुँदा अनेक समस्या झेल्नु परेको अवस्थालाई मध्यनजर गर्दै प्रेस पासको नवीकरण सहज नहुँदासम्म पुरानै प्रेस पासबाट सहजरुपमा समाचार संकलन, आवत–जावत तथा सिंहदरबार प्रवेशको व्यवस्था मिलाउन सूचना तथा प्रसारण विभाग र सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघ आग्रह गर्दछ’ महासंघले भनेको छ।

