रूपन्देही, पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) रूपन्देहीले आज विश्व सर्वहारा वर्गका महान् नेता कामरेड माओसेतुङको १३३औँ जयन्ती सम्पन्न पारेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष कामरेड चित्रबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।
माओले चिनिया जनतालाई मात्र मुक्त नगरेर विश्व सर्वहारा वर्गको लागि मुक्तिको सिद्धान्त मार्क्सवाद–लेनिनवाद माथि थप योगदान गर्दै अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा जनवादी क्रान्तिको सिद्धान्त प्रतिपादन गरेको प्रमुख अतिथि केसीले जोड दिनुभयो ।
‘माओले प्रतिपादन गरेको सिद्धान्तलाई विश्वमा महान विचारधारा भनेर चिनिन्छ ।’ केसीले भन्नुभयो– ‘रुसमा ख्रुस्चेवले १९५६ को २०औँ पार्टी कांग्रेसमा शान्तिपूर्ण संक्रमण सहअस्तित्व र सम्पूर्ण जनताको राज्यको संशोधनवादी अवधारणा पेश गरे ।’ त्यसपछि माओले त्यसको विरुद्ध विद्रोहको झण्डा उठाएको केसीको भनाई थियो ।
माओ दिवसको अवसरमा तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ पूर्व अध्यक्ष ढुन्डिराज शर्मा, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर केसी र राष्ट्रिय जनमोर्चा रूपन्देहीका काबा अध्यक्ष इन्दिरा ज्ञवालीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता रुपन्देही जिल्ला पार्टी प्रवक्ता कामरेड लालचन्द पन्तले र सञ्चालन कम्युनिष्ट संग्राहालयका अध्यक्ष चेतनाथ आचार्यले गर्नुभएको थियो ।
शहीदहरूको सम्मानमा एक मिनेट मौनधारण गरेर अगाडि बढेको सो कार्यक्रममा स्वागत मन्तव्य अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेलले गर्नुभएको थियो ।