काठमाडौँ । अखिल नेपाल शिक्षक सङ्घको पाँचौँ राष्ट्रिय महाधिवेशन स्थगित भएको छ ।
महासचिव चक्रपाणि पौडेलको हस्ताक्षरमा २०८२ भदौ २६ गते जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
भदौ २३ देखि २६ गतेसम्म देशमा घटेका कहालीलाग्दो घटनाको सन्दर्भमा भदौ २६ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले महाधिवेशन स्थगित गरिएको पौडेलले विज्ञप्तिमा बताउनुभएको छ ।
विज्ञप्तिमा जेनजी समूहले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकार सञ्चालकको अविवेकी निर्णयका कारण दुई दर्जनभन्दा बढी युवाको कत्लेआम भएको बताइएको छ ।
आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना र अस्पतालमा उपचाररत घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको काम गरिएको सो वक्तव्यमा राष्ट्रका महत्त्वपूर्ण धरोहर ध्वस्त पारिएकोमा त्यसका दोषीलाई कानुनी कठघरामा ल्याई कारबाही गरिनुपर्ने माग गरिएको छ ।
राष्ट्र, राष्ट्रियता र जनताको सार्वभौमिकताको रक्षा हुने गरी तथा देशलाई राष्ट्रविहीनताको अवस्था नहुने र देशीविदेशी चलखेललाई रोक्ने गरी संवैधानिक र लोकतान्त्रिक पद्धतिबाट राजनीतिक निकास अवलम्बन गर्न सङ्घले आग्रह गरेको छ ।
