ललितपुर । लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ ‘पर्दापछाडिको भुटान’ र अङ्ग्रेजी अनुवाद ‘भुटान बिहाइन्ड द कर्टेन’ सार्वजनिक गरिएको छ ।
टंकप्रसाद आयार्च स्मृति प्रतिष्ठानले ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरेको समारोहमा लेखक स्वयं, भुटानी शरणार्थीको पुनर्स्थापना तथा राजबन्दीको रिहाइका लागि वकालत गर्दै आएका अधिकारकर्मी तथा पत्रकार कनकमणि दीक्षित र देवेन्द्र भट्टराई तथा प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले संयुक्त रूपमा कृति सार्वजनिक गरेका हुन् ।
नारायण फुयाल शर्मा र भीष्मप्रसाद सङ्ग्रौलाको सम्पादनमा प्रकाशित यी पुस्तकमध्येको अङ्ग्रेजी संस्करण सङ्ग्रौलाको अनुवादमा तयार भएको हो ।
कृति लोकार्पणसँगै ‘राजबन्दी र शरणार्थी मुद्दामाथि विमर्श’ समेत समेटिएको उक्त कार्यक्रमका वक्ताहरूले भुटान सरकारले त्यहाँका नेपाली भाषीहरूमाथि गरेको ज्यादती र त्यसबाट राजबन्दी तथा शरणार्थी बन्न पुगेका निर्दोष नेपालीहरूको न्यायका लागि आन्दोलन र पहललाई थप तीव्रताका साथ निरन्तरता दिनुपर्ने बताए ।

