काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) को आयोजनामा साहित्यकार गिरिप्रसाद बुढाको कथासङ्ग्रह ‘खतराको घण्टी’ को समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
२०८२ असार ६ गते शुक्रबार भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो ।
अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षतामा अगाडि बढेको कार्यक्रमको प्रमुख अतिथिमा भाषा आयोग नेपालका सदस्य एवम् प्रगतिशील लेखक सङ्घका केन्द्रीय सल्लाहकार डा. पुष्करराज भट्ट हुनुहुन्थ्यो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पूर्णबहादुर शाही, रुकुमेली साहित्य अधिष्ठानका सचिव पूर्ण ओली, इच्छुक सांस्कृतिक प्रतिष्ठानका केन्द्रीय सदस्य खगेश्वर भण्डारी, राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली, मुसिकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्मा, नेपाली एकता सन्देश जापानका कार्यक्रम प्रस्तोता नवीन बस्याललगायत देशविदेशमा क्रियाशील साहित्यकार व्यक्तित्वको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि डा. पुष्करराज भट्टले साहित्यकार बुढाद्वारा लिखित कथासङ्ग्रह ‘खतराको घन्टी’ पुस्तकको विस्तृत समीक्षा गर्नुभएको थियो ।
सो क्रममा भट्टले कथासङ्ग्रहभित्र सङगृहीत कथाका भाव पक्ष र वैचारिक पक्षलाई गहिरो गरी प्रस्ट्याउनुभएको थियो । विशेषगरी कथासङ्ग्रहले निम्नवर्गीय जनताले भोग्नुपरेको पीडा र सङ्घर्षलाई चित्रण गरिएको, समाजमा भएका विकृति, विसङ्गतिका साथै राजनीतिक विषयवस्तुलाई पनि उजागर गरिएको बताउनुभयो ।
डा. भट्टले कथासङ्ग्रहभित्रका कमजोर पक्षको पनि समीक्षा गर्दै पुस्तकका लेखक तथा कथाकारलाई मननयोग्य महत्त्वपूर्ण सुझाव पनि दिनुभएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट साहित्यकारहरू रवि शर्मा, मुकुन्दप्रसाद शर्मा र कल्पना पौडेलले कथासङ्ग्रह खतराको घन्टीमा पुरक समिक्षा तथा सुझावहरू दिनुभएको थियो ।
सहभागका समीक्षा तथा सल्लाह सुझावपश्चात साहित्यकार गिरिप्रसाद बुढाले सङ्क्षिप्त लेखकीय विचार ब्यक्त गर्नुभएको थियो ।
बुढाको लेखकीय मन्तव्यपश्चात् कार्यक्रमका प्रमुख अतिथि तथा समीक्षक डा. भट्टले पुस्तक समिक्षाको निचोड मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममको सञ्चालन अन्पाका केन्द्रीय सदस्य जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।

