काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले हिजो–४ असार, तदनुसार जुन १८ मा, नेपालमा कार्यान्वयन भइरहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालका तर्फबाट एक वक्तव्य जारी गरेको थियो ।
‘एमसीसी नेपालको वक्तव्य’ शीर्षकमा तीन अनुच्छेदको उक्त वक्तव्य सार्वजनिक हुनेबित्तिकै सम्बन्धित लिंक दूतावासले नेपालका केही पत्रकारहरूलाई पनि पठाएको थियो ।
वक्तव्यको पहिलो अनुच्छेदमा लेखिएको छ–
‘फेब्रुअरी २०२५ मा अमेरिकी विदेशमन्त्रीले वैदेशिक सहायता सम्बन्धी समीक्षा चलिरहेकै बेला लागु गरिएको ९०– दिने रोकमा एमसीसी नेपाल कम्प्याक्टका लागि विशेष अपवाद प्रदान गर्दै एमसीसीको निरन्तर कार्यान्वयनलाई स्वीकृति दिनुभएको थियो । यस अपवादले एमसीसी नेपाल कम्प्याक्टको कार्यान्वयनलाई समीक्षा अवधिमा पनि निरन्तर अगाडि बढाउन स्वीकृत प्रदान गरेको छ । एमसीसी र नेपालस्थित अमेरिकी दूतावास सरोकारवालासँग सहकार्य र संवाद गर्दै यस समिक्षाको सकारात्मक परिणामका लागि प्रयत्नरत छन् ।’
दोस्रो अनुच्छेदमा एमसीसीले नेपाल सरकारको अर्थ मन्त्रालय र एमसिए– नेपालसँग निकट सहकार्य गर्दै कम्प्याक्ट अन्तर्गत गरिएका वा सुरु गर्न लागिएका गतिविधिहरू (सम्भावित नयाँ प्रतिबद्धतासहित) संयुक्त राज्य अमेरिका र नेपाल सरकारका प्राथमिकतासँग मेल खाने, पारदर्शिता, सुशासन, प्रभावकारी कार्यान्वयन र जोखिम व्यवस्थापन सुनिश्चित गर्ने गरी अगाडि बढाइरहेको छ’ लेखिएको छ ।
तेस्रो अनुच्छेदमा संयुक्त राज्य अमेरिका नेपालसँगको द्विपक्षीय सम्बन्ध र नेपाली जनताको समृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि प्रवद्र्धन गर्ने प्रयासप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।’






