भियना । इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टको निर्माणस्थल रहेका दुई भवन राजधानी तेहरानको नजिकैको कराजमा नष्ट भएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले बुधबार बताएको छ ।
इजरायली सेनाले तेहरान र वरपरका क्षेत्रमा शृङ्खलाबद्ध हवाई आक्रमण गरेको बताएको केही घण्टापछि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीको यो घोषणा आएको हो ।
‘इरानका दुईओटा सेन्ट्रिफ्युज उत्पादन केन्द्र, टेसा कराज कार्यशाला र तेहरान अनुसन्धान केन्द्रमा आक्रमण भएको आइएइएसँग जानकारी छ’ आइएइएले एक्समा एक पोस्टमा भनेको छ– ‘दुवै स्थल पहिले जेसिपिओएको भागका रूपमा आइएइए निगरानी र प्रमाणीकरणअन्तर्गत थिए ।’
जेसिपिओले इरानको आणविक कार्यक्रमसम्बन्धी सन् २०१५ को सम्झौतालाई जनाउँछ ।
‘तेहरानको एक स्थलमा भएको अर्को आक्रमणमा एक भवनमा आक्रमण भयो, जहाँ उन्नत सेन्ट्रिफ्यूज रोटर निर्माण र परीक्षण गरिन्थ्यो’ एजेन्सीले एक्समा अर्को पोस्टमा भनेको छ ।
केही घण्टाअघि एक इजरायली सैन्य वक्तव्यले तेहरान क्षेत्रमा आफ्नो हवाई आक्रमणको वर्णन गरेको थियो ।
‘इरानको आणविक हतियार विकास कार्यक्रममा बाधा पुऱ्याउने व्यापक प्रयासको एक हिस्साका रूपमा तेहरानको सेन्ट्रिफ्युज उत्पादन सुविधालाई लक्षित गरिएको थियो’ इजरायली सेनाले भनेको छ ।
सेन्ट्रिफ्युज युरेनियम संवर्धनका लागि महत्त्वपूर्ण छन् । यो संवेदनशील प्रक्रिया हो, जसले आणविक रिएक्टरका लागि इन्धन वा अत्यधिक विस्तारित रूपमा आणविक रिएक्टरको कोर उत्पादन गर्न सक्छ । (रासस/एएफपी)