गाजा । गाजामा शरणार्थी बसोबास गरिरहेको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तीमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताले बताएका छन् ।
गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भन्नुभयो– विद्यालयमा भएको आक्रमणमा कम्तीमा ३३ जना मारिएका छन् र उनीहरूमध्ये अधिकांश बालबालिका छन् ।’
उहाँका अनुसार सयौँ मानिस शरण लिइरहेको फाहमी अलजरजावी स्कुलमा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन् ।
त्यसैगरी, उत्तरी गाजापट्टीको जबालिया सहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकु विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताउनुभयो ।
इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौँ हजार पूर्वसैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।
इजरायली सेनाले फाहमी अलजरजावी स्कुलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीलाई आक्रमण गरेको बताएको छ । (रासस/एएफपी)