वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार गाजामा हमासले पक्रिएका तीन बन्धकको मृत्यु भएको र २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको बताउनुभएको छ ।
‘आजको मितिसम्म २१ जना छन् । तीन जनाको मृत्यु भएको छ’ हालसम्म २४ जना जीवित रहेको विश्वास गरिएको उल्लेख गर्दै ट्रम्पले हमासले लिएका बन्धकको बारेमा भन्नुभयो ।
उहाँले अब मृत भएको विश्वास गरिएकाको पहिचान वा उनीहरूको मृत्युको बारेमा कसरी थाहा पाउनुभयो भन्नेबारे थप विवरण दिनुभएन ।
‘त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि’ उहाँले भन्नुभयो ।
एक अमेरिकी एडन अलेक्जान्डर जीवित रहेको विश्वास गरिएका २४ बन्धकमध्ये एक थिए । हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गरेपछि अन्य केही अमेरिकीका शव पनि हमासको कब्जामा रहेका छन् ।
बन्धकलाई पुनः प्राप्त गर्न र हमासलाई नष्ट गर्ने आफ्नो युद्धलक्ष्य पूरा गर्ने प्रयासमा इजरायलले गाजापट्टी कब्जा गर्ने र प्यालेस्टिनी क्षेत्रमा अनिर्दिष्ट समयका लागि बस्ने योजनालाई सोमबार अनुमोदन गरेपछि राष्ट्रपति ट्रम्पको टिप्पणी आएको हो । (रासस/एपी)