मुजफ्फरावाद (पाकिस्तान) । भारत र पाकिस्तानले बुधबार आफ्नो विवादित सीमामा भारी गोलाबारी गरेपछि पाकिस्तानले त्यसको प्रतिक्रियास्वरूप ‘हिसाब चुक्ता गर्ने’ बताएको छन् ।
विवादित क्षेत्रको भारतीय क्षेत्रमा भएको घातक आक्रमणका लागि इस्लामाबादलाई दोष दिएको केही दिनपछि नयाँदिल्लीले पाकिस्तान प्रशासित काश्मीर र पञ्जाब राज्यका नौ स्थलमा आतङ्कवादी शिविरमा “सटिक आक्रमण” गरेको दाबीपछि पाकिस्तानको यो प्रतिक्रिया आएको हो ।
भारतीय सेनाले ‘न्याय पूरा भएको’ तथा उसको कार्य ‘केन्द्रित, मापन गरिएको र गैरविस्तारवादी प्रकृतिको रहेको दाबीको पाकिस्तानले खण्डन गरेको छ ।
पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो घरेलु लोकप्रियता बढाउन आक्रमण गरेको आरोप लगाउँदै पाकिस्तानले पनि जवाफी कारबाही गरेको बताउनुभयो ।
‘प्रतिकार पहिले नै सुरु भइसकेको छ’ आसिफले भन्नुभयो– ‘हामी हिसाब चुक्ता गर्न धेरै समय लिने छैनौँ ।’
भारतप्रशासित कस्मिरमा अप्रिल २२ मा पर्यटकमाथि भएको आक्रमणमा लश्कर–ए–तैयबाका बन्दुकधारीले गरेको आक्रमणप्रति भारतले सैन्य प्रतिक्रिया दिने व्यापक अपेक्षा गरिएको थियो ।
आक्रमणमा पहलगामको पर्यटकीय केन्द्रमा २६ जनाको मृत्यु भएको थियो । त्यसमा मुख्यतः हिन्दु पुरुष थिए । हालसम्म कुनै पनि समूहले सो घटनाको जिम्मेवारी लिएको छैन ।(रासस/एएफपी)