काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच सहमति भएको छ । बुधबार साँझ महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो ।
महासंघका राखेका नौ बुँदे मागमा सरकारले सहमति जनाएको र छिट्टै शिक्षा ऐन पारित हुने शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले जानकारी दिए । सचिव काफ्लेका अनुसार शिक्षकले आन्दोलन रोक्ने सहमति पनि भएको छ ।
यस्तै, नेपाल शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूका नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएको जानकारी दिइन् ।

‘नौ बुँदे मागमा सहमति भएको छ। अब मन्त्रिपरिषदले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिन्छ’ पराजुलीले भनिन्।
आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीचको तेस्रो दिन बुधबार अपरान्हदेखि सुरु भएको वार्ता साँझ सकिएको हो।
शिक्षकसँगको वार्ता लगत्तै वार्तामा सहभागी शिक्षामन्त्री पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद बैठकमा गएका छन् ।
शिक्षकका मागबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक अहिले बस्दैछ ।