काठमाडौँ । विद्यार्थी भर्ना अभियानको समयमा जारी अनिश्चितकालीन शिक्षक आन्दोलनले शैक्षिक क्षति हुने आँकलन भइरहेका बेला उनीहरूले विद्यार्थीको पढाइमा क्षति नहुने आश्वासन दिएका छन् ।
आन्दोलनकारी अखिल नेपाल शिक्षक महासङ्घको घटक सङ्गठन अखिल नेपाल शिक्षक सङ्घको नेतृत्वले युगदर्शनसित कुराकानी गर्दै सो आश्वासन दिएको हो ।
२०८२ वैशाख २ गते मङ्गलबार युगदर्शनसित प्रतिक्रिया दिँदै शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की र महासचिव चक्रपाणि पौडेलले भन्नुभयो–’हामी कुनै पनि प्रकारको शैक्षिक क्षति हुन दिने छैनौँ ।’
वैशाख १ गतेदेखि देशव्यापी भर्ना अभियान चलिरहेका बेला तपाईंहरूको आन्दोलनले विद्यार्थीको पढाइमा प्रतिकूल असर त पर्दैन भन्ने हाम्रो प्रश्नको जवाफमा उहाँहरूले सो आश्वासन दिनुभएको थियो ।
‘बिदा कटौती गरेर भए पनि विद्यार्थीको पढाइमा क्षति हुन दिन्नौँ । हामी विद्यालयमा शैक्षिक क्षति हुन दिन्नौँ’ अध्यक्ष कार्कीले भन्नुभयो ।
चैत २० गतेदेखिको शिक्षक आन्दोलनका उपलब्धि के के हुन् भन्ने युगदर्शनको प्रश्नको उत्तरमा अध्यक्ष कार्कीले संसदीय शिक्षा समितिले तीव्र गतिमा काम गरिरहेको तथा तालुकवाला मन्त्रालय गम्भीर रहेको जानकारी दिनुभयो ।
‘शिक्षक महासङ्घले वार्ताको बटमलाइनको रूपमा २४ ओटा बुँदा प्रस्तुत गरेकोमा मन्त्रालयले सातओटा बुँदामा वार्ता गर्न सक्ने सम्भावना देखिएको छ’ कार्कीले बताउनुभयो ।
त्यस्तै, उहाँले सरकारले पूर्वप्राथमिक (ई.सी.डी.) शिक्षकको न्यूनतम तलब मासिक १७ हजार ३०० बनाउने प्रस्ताव गरेको तथा विद्यालय कर्मचारीको तलब मासिक दुई हजार रुपियाँ थप्ने प्रस्ताव गरेकोमा उनीहरूलाई दरबन्दीमा लैजानुपर्ने, ग्रेड समायोजन गर्ने तथा मर्यादाक्रम तोक्नेजस्ता विषयमा सहमति जुट्न सक्ने जानकारी दिनुभयो ।
सरकारसित तपाईंहरूको वार्ता हुन्छ कि हुन्न भन्ने सन्दर्भमा अध्यक्ष कार्कीले भन्नुभयो– ‘सरकार आन्दोलन रोकेर वार्ता गर भन्छ तर हामी आन्दोलनसँगै वार्ता गर्न चाहन्छौँ ।’
उहाँले सरकारसितको वार्ताका लागि भरपर्दो आधार खोजेको बताउनुभयो ।
‘एकातिर, हामी बर्खे अधिवेशनको यति दिनभित्र शिक्षा विधेयक पारित गर्नेछौँ भन्ने आधार चाहन्छौँ’ उहाँले भन्नुभयो– ‘त्यस्तै, हामी सभामुख र राजनीतिक पार्टीका सचेतकबाट शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता चाहन्छौँ ।’
अर्कोतर्फ, वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा आफूहरूको कुनै सहयोग नहुने बताउनुभयो ।
‘यदि हाम्रा माग पूरा गरिएन भने कक्षा १२ को परीक्षामा शिक्षकको सहभागिता रहन्न’ उहाँले भन्नुभयो– ‘त्यस्तै, हामीले एस.ई.ई. को उत्तरपुस्तिका नजाच्ने पहिले नै घोषणा गरिसकेका छौँ ।’
युगदर्शनसितको कुराकानीमा महासचिव चक्रपाणि पौडेलले अहिलेको आन्दोलनमा शिक्षकको उत्साह एकदमै बढेर गएको बताउनुभयो ।
‘आजको आन्दोलनमा ७० हजारभन्दा बढी शिक्षक हुनुहुन्छ’ उहाँले भन्नुभयो– देशैभरिका ७७ ओटै जिल्लाबाट शिक्षकहरू आउनुभएको छ ।’
अहिलेको आन्दोलनमा आफ्नो सङ्गठनको तर्फबाट ठुलो सङ्ख्यामा उपस्थिति रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘बागलुङ, प्युठान, दाङ, मकवानपुर, गुल्मी, सिन्धुपाल्चोक, पूर्वी रुकुम, कास्की, तेह्रथुम, कैलाली, कञ्चनपुर, बझाङ, अर्घाखाँचीलगायत धेरै जिल्लाबाट हाम्रो सङ्गठनका साथीहरू आन्दोलनमा आउनुभएको छ ।’
उहाँले आन्दोलनमा नआउने शिक्षकको स्थानीय तहमै निगरानी भइरहेको पनि बताउनुभयो ।
राहत शिक्षकको समस्या कसरी समाधान गरिनुपर्छ भन्ने लाग्छ भन्ने प्रश्नमा महासचिव पौडेलले भन्नुभयो– ‘सबैलाई एकपटक परीक्षामा सहभागी गराउने, पास भएकालाई दरबन्दीमा सामेल गर्ने, फेल भएकालाई गोल्डेन ह्यान्डस्याक दिनुपर्ने हाम्रो प्रस्ताव छ । यही विधि अस्थायी र करार शिक्षकको हकमा पनि लागु होस् भन्ने चाहन्छौँ ।’
उहाँका अनुसार गोल्डेन ह्यान्डस्याक पाँच वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्नेछ ।
त्यस्तै, उहाँले शिक्षक–विद्यार्थी अनुपात प्रतिशिक्षक २०, २५ र ३० हुनुपर्ने प्रस्ताव आफूहरूको रहेको बताउनुभयो । हालको शिक्षा ऐनमा यस्तो अनुपात प्रतिशिक्षक ४०, ४५ र ५० छ ।
वार्ता, संवाद र सहमतिको सम्भावना के कस्तो छ भन्ने प्रश्नमा महासचिव पौडेलको भनाइ थियो– ‘सम्भावना छ तर हामीले उधारो सम्झौता गर्ने छैनौँ ।’