गिरिप्रसाद बुढा ##
रक्तिम सांस्कृतिक अभियान नेपालको जनवादी सांस्कृतिक आन्दोलनको क्षेत्रमा सबैभन्दा अग्रपङ्क्तिमा रहेको स्थापित नाम हो । आफ्नो स्थापनाकालदेखि नै रक्तिमले नेपालमा हुने हरेक सामाजिक तथा राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको छ । समाजमा चल्दै आएको पुरानो संस्कृतिमा प्रगतिशील रूपान्तरणको साथै नयाँ संस्कृति निर्माणका लागि रक्तिमले आफ्नो कला, साहित्य र सांस्कृतिक कार्यक्रममार्फत जनताको बिचमा आफ्नो उपस्थिति दर्साउँदै आएको छ ।
पछिल्लो समयमा हाम्रो देशमा सङ्घीयताको प्रश्न ज्वलन्त रूपमा अगाडि आएको छ । सङ्घीयता देश र जनताको आवश्यकता र माग थिएन । यस प्रणालीलाई विदेशी शक्तिकेन्द्रको षड्यन्त्र र केही राजनीतिक दलको स्वार्थपूर्तिको लागि देशमा भित्राइएको हुनाले यसले देश र जनताको हितमा काम गर्न सकिरहेको छैन । उल्टो सङ्घीयताले देशमा ठुलो क्षति पुऱ्याइरहेको छ । तसर्थ देशमा सङ्घीयता खारेजीको आन्दोलन अपरिहार्य बन्दै गइरहेको छ । यो आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानको भूमिका बढ्नु स्वाभाविक नै छ ।

देशमा जुन समयदेखि सङ्घीयता भित्राइयो, त्यसै समयदेखि कला, साहित्य र सांस्कृतिक कार्यक्रमको माध्यमबाट सङ्घीयता विरुद्ध रक्तिम सांस्कृतिक अभियानले निरन्तर आवाज बुलन्द गर्दै आइरहेको छ । यसरी सङ्घीयता विरुद्ध सांस्कृतिक सङ्गठनको तर्फबाट जनचेतना जागृत गर्ने कार्यमा रक्तिम नै सबैभन्दा अग्रपङ्क्तिमा उभिएको एक मात्र सांस्कृतिक सङ्गठन बन्न पुगेको छ । यसै क्रममा हालै राष्ट्रिय जनमोर्चाले काठमाडौँमा सञ्चालन गरेको राजधानीकेन्द्रित सङ्घीयता विरोधी कार्यक्रममा पनि रक्तिमको महत्त्वपूर्ण योगदान रहेको छ ।
२०८१ चैत २४ गतेदेखि ३० गतेसम्म काठमाडौँमा राष्ट्रिय जनमोर्चाले राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको आन्दोलन आह्वान गरेको थियो । काठमाडौँमा बढ्दै गएको प्रदूषणलाई मध्यनजर गरी उक्त ७ दिनको कार्यक्रमलाई छोट्याएर ५ दिनमा समापन गरिएको थियो ।
देशभरिबाट सयौँको सङ्ख्यामा नेताकार्यकर्ता र जनता काठमाडौँमा जम्मा भएर गरिएको यो आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । यस प्रकारको ऐतिहासिक आन्दोलनको समर्थनमा रक्तिम सांस्कृतिक अभियानले पनि आफ्नो सामर्थ्यअनुरूपको सक्दो योगदान दिने प्रयत्न गरेको थियो । यसै क्रममा दाङ जिल्लामा रक्तिम घोराही नगर समितिले माघ महिनादेखि नै सङ्घीयता विरुद्ध चल्ने आन्दोलनको प्रचारप्रसार गर्दै कैयौँ दिन सडक सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । यो कार्यक्रमले दाङ जिल्लामा मात्रै होइन, देश र विदेशमा पनि राम्रो प्रभाव पारेको थियो ।

काठमाडौँकेद्रित सङ्घीयता विरुद्ध कार्यक्रमको सहयोगार्थ रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले सडक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय पहिले नै तय भइसकेको थियो तर यो कार्यक्रम गर्न रक्तिमका लागि निकै ठुलो कठिनाइ थियो । वास्तवमा रक्तिमको सामुन्ने चुनौतीको पहाड नै उभिएको थियो तथापि सबै कठिनाइ र चुनौतीको सामना गरेर रक्तिमले सडक सांस्कृतिक कार्यक्रमलाई अगाडि बढाउन कम्मर कस्यो ।
यसै क्रममा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले सङ्घीयता विरुद्धको नयाँ गीत निकाल्न सफल भयो । “किन चाहियो सङ्घीयता” बोलको नयाँ गीतले सङ्घीयता विरुद्ध लामबद्ध भएका आन्दोलनकारी जनताका मनमस्तिष्कमा नयाँ उत्साह भर्ने र चेतना जागृत गर्ने काममा महत्त्वपूर्ण भूमिका निर्वाह गऱ्यो । विषेश गरी सङ्घीयताले नेपालमा ल्याएको दुष्परिणामहरू महँगी, बेरोजगारी, जनताको थाप्लोमा थोपारिएको करको भार, भ्रष्टाचारजस्ता विषयवस्तुको चिरफार गर्दै प्रजातान्त्रिक विकेन्द्रीकरणमा आधारित एकात्मक व्यवस्थालाई यो गीतले सङ्घीयताको विकल्पको रूपमा अगाडि सारेको थियो । यसका साथै प्रतिगमनकारी शक्तिले हालको गणतन्त्रको विकल्प राजतन्त्र भनेर कुर्लिरहेका बेला यो गीतले गणतन्त्रको विकल्प नयाँ जनवादी व्यवस्था हो भन्ने विषयलाई पनि जनताको बिचमा सशक्त ढङ्गले सम्प्रेषण गर्ने कार्य गऱ्यो ।

२०८१ फागुनमा रक्तिमको चितवनमा सम्पन्न बैठकले राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको कार्यक्रमको समर्थनमा काठमाडौँमा सडक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयनमा लैजानका निम्ति रक्तिमले राष्ट्रिय जनमोर्चाको कार्यालय कपनमा तीन दिनको छोटो तयारी गरेको थियो । यसैबिचमा चैत १५ गते राजावादीले गरेको हिंसात्मक आन्दोलनले काठमाडौँलाई निकै नै त्रसित पारेको थियो । मुख्य स्थानमा सरकारले कर्फ्यु आदेश जारी गऱ्यो । यसले रक्तिमले गर्ने सडक सांस्कृतिक कार्यक्रमलाई केही हदसम्म असर पुऱ्याएको थियो तैपनि चैत १६ गतेदेखि रक्तिमले स्वयम्भुचोकबाट सडक सांस्कृतिक अभियानलाई अगाडि बढायो ।
अघिल्लो दिनको हिंसात्मक आन्दोलनको कारण त्रसित काठमाडौँमा पछिल्लो दिन सडक सांस्कृतिक कार्यक्रम अगाडि बढाउँदा प्रहरीले हाम्रो कार्यक्रमलाई बढी नै केरकार गर्ने र कडा सुरक्षा घेरामा राख्ने काम गरेको थियो तर विस्तारै हाम्रो यो सडक सांस्कृतिक कार्यक्रमले काठमाडौँको यो त्रासलाई मत्थर पार्दै अगाडि बढेको थियो । यसरी १६ गते स्वयम्भुचोकबाट सुरु भएको रक्तिमको सडक सांस्कृतिक कार्यक्रम कलङ्की, बुढानीलकण्ठ, चक्रपथ, बसुन्धरा, सामाखुसी, जावलाखेल, लगनखेल, पाटन दरबार, सुन्धारा, न्युरोड, पिपलबोट, असन, भोटाहिटी, बल्खुचोक, पाँगा, कालिमाटी, गौशाला, चाबहिल, सुकेधारा, सातदोबाटो, कोटेश्वरलगायतका विभिन्न सडक र चोकमा सञ्चालन गर्दै २२ गतेका दिन बागबजार चोकमा समापन भएको थियो ।

यसरी सम्पन्न भएको सडक सांस्कृतिक कार्यक्रममा ‘किन चाहियो सङ्घीयता ?’, ‘सङ्घीयता घाँडो भो’, ‘हामी एक बनौँ’, ‘बढ्दै जाऊँ’, ‘शिशिर चिर्ने’, ‘उस्तै छ हामीलाई पिरलो’, ’आँधीको बेग बनी’, ‘देशै जान थाल्यो टुक्रा टुक्रा परेर’, ‘मलाई डर छैन’, ‘सानो सानो बुकुरो’ जस्ता रक्तिमका नयाँपुराना गीतलाई विशेष स्थान दिइएको थियो ।
काठमाडौँमा सञ्चालित यो सडक सांस्कृतिक अभियानमा गिरीप्रसाद बुढा, हेमराज आश्रम, उषा तारामी, मानबहादुर नेपाली, हरिबहादुर सर्तुङी, मेस्मा पुन, बिन्दु परियार, क्षितिजा राहाडी, समष्टि बुढा, प्रेनिला ज्ञामी, रमेश पुन, भुमा श्रीस, झबिन्द्र नेपाली, युजिन श्रेष्ठलगायतका रक्तिमका कलाकारको अतुलनीय योगदान रहेको थियो ।

यो सडक सांस्कृतिक कार्यक्रमलाई सफल बनाउनका लागि काठमाडौँ जिल्ला पार्टीको तर्फबाट छवि खनालको नेतृत्वमा धनपति सापकोटा, हिमालविक्रम सिंह, छविलाल गैरेलगायतका साथिहरूले पनि व्यवस्थापकीय भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी, पार्टी केन्द्रबाट स्वयम्सेवकको रूपमा खटिनुभएका राजेन्द्र भुसाल, गणेश ठेडीमगर, कपिल श्रीपाली, ज्ञानु चौधरीलगायतका स्वयम्सेवक साथीहरूको भूमिकाले रक्तिमको यो सडक सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन ठुलो मदत मिलेको थियो ।
त्यसैगरी सडक सांस्कृतिक कार्यक्रमको बिचबिचमा नेकपा (मसाल) काठमाडौं जिल्लाका प्रवक्ता जगत् रेग्मी, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष, सुवाश जिसी, महासचिव पुरन पोख्रेल, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष, निमबहादुर बुढाथोकी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीलगायतका वक्ताको उपस्थितिले सडक सांस्कृतिक कार्यक्रम थप ओजपूर्ण बनेको थियो । यसरी सम्पन्न रक्तिम सांस्कृतिक अभियानको सडक सांस्कृतिक कार्यक्रमले देशभरिबाट काठमाडौको आन्दोलनमा आउने नेता, कार्यकर्ता र जनसमुदायमा नयाँ जोश र उत्साह पैदा गरेको थियो ।

सडक सांस्कृतिक कार्यक्रमको अतिरिक्त चैत २४ देखि २८ गतेसम्म अगाडि बढेको काठमाडौँकेन्द्रित सङ्घीयता विरुद्धको आन्दोलनमा देशको विभिन्न स्थानबाट रक्तिमका कलाकारको सहभागिता रहेको थियो । दाङ जिल्लाबाट आन्दोलनमा सहभागी उदीयमान नवकलाकार स्वर्णिम थापा र बागलुङ जिल्ला निसीबाट आन्दोलनमा सहभागी कलाकारको प्रस्तुतिले आन्दोलनमा दर्शकको मन जित्न सफल भएको थियो ।
त्यसैगरी, आन्दोलनकारीहरू रहने गरेका क्याम्पमा काठमाडौँ र चितवनबाट सहभागी कलाकारले विशेष मनोरञ्जनका साथै चेतना सम्प्रेषण गर्ने कार्य सम्पन्न गरेका थिए । यसरी रक्तिम सांस्कृतिक अभियानका सांस्कृतिक सेना यसपटपक पनि पार्टी र आन्दोलनको सुन्दर गहनाको रूपमा प्रस्तुत भएका छन् । कलाकारले पार्टी र आन्दोलनलाई शोभायमान बनाएका छन् ।
कला र साहित्य सर्वहारा वर्गको साझा उदेश्यको एक अङ्ग बन्नुपर्दछ । समस्त मजदुर वर्गको वर्गचेतन अग्रदलद्वारा सञ्चालित अभिन्न, महान् सामाजिक जनवादी मेसिनको दाँत र पेच हुनुपर्छ । साहित्य सुसङ्गठित, योजनाबद्ध, एकबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नुपर्दछ भन्ने लेनिनको महान् शिक्षालाई रक्तिम सांस्कृतिक अभियानका कलाकारले यसरी नै झनुभन्दा झन् बढी आत्मसात गर्दै अगाडि बढ्दै जानु रक्तिमका कलाकारको दायित्व बन्नुपर्दछ । यसरी नै हामी रक्तिमका कलाकारले अरू बुर्जवा कलाकारको भन्दा फरक पहिचान निर्माण गर्न सक्नेछौँ ।

चैत २४ देखि २८ गतेसम्म पार्टीले आह्वान गरेको राजधानीकेन्द्रित सङ्घीयता विरुद्धको आन्दोलनमा रक्तिम सांस्कृतिक अभियानले आफ्नो महत्त्वपूर्ण योगदान दिनुका साथै आफ्नो स्तरलाई पनि थप माथि उठाएको छ । आन्दोलन र सङ्घर्षबाट खारिएर नै रक्तिमले आफ्नो वैचारिक र साङ्गठनिक स्तरलाई विकास गर्न सक्छ । आगामी दिनमा रक्तिमले आफ्नो यात्रालाई अझ उच्च र सशक्त प्रकारले अगाडि बढाउँदै लैजानुपर्दछ ।
