तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध सम्भावित सैन्य कारबाहीको चेतावनी दिएपछि इरानका सर्बोच्च नेता आयातोल्लाह अली खामेनीले आफ्नो देश विरुद्ध अमेरिकी धम्की अर्थहीन भएको बताउनुभएको छ ।
खामेनीले फारसी नयाँ वर्ष नौरुजको अवसरमा टेलिभिजनमा प्रत्यक्ष सम्बोधन गर्दै भन्नुभयो– ‘अमेरिकीले थाहा पाउनुपर्छ कि इरान विरुद्धको धम्कीले उनीहरूलाई कहीँ पनि पुऱ्याउँदैन ।’
उहाँले भन्नुभयो– ‘यदि उनीहरूले इरान विरुद्ध केही गरे भने उनीहरूलाई कडा झापड लाग्नेछ भनी अमेरिकी र उसका अन्य सहयोगीले कुरा बुझ्नुपर्छ ।’
गत मार्च ७ मा ट्रम्पले खामेनीलाई पत्र लेख्दै तेहरानको आणविक कार्यक्रमबारे वार्ता गर्न आग्रह गरेको र तेहरानले अस्वीकार गरेमा सम्भावित सैन्य कारबाही गर्ने चेतावनी दिनुभयो ।
बिहीवार विदेशमन्त्री अब्बास अराघचीले उक्त पत्र खतराको विषय भएको तर यसले अवसर प्रदान गर्ने पनि बताउनुभएको थियो ।
अराघचीले तेहरानले आफ्नो प्रतिक्रियाबारे विचार गरिरहेको र आगामी दिनमा सार्वजनिक गरिने बताउनुभयो ।
बुधबार अमेरिकी समाचार वेबसाइट एक्जिओसले एक अमेरिकी अधिकारी र अन्य स्रोतलाई उद्धृत गर्दै ट्रम्पको पत्रले नयाँ आणविक सम्झौतामा पुग्नका लागि दुई महिनाको समयसीमा तोकेको जनाएको छ । यसले दुई महिनाको अवधिको सुरु वा अन्त्य मिति निर्दिष्ट गरेको छैन । (रासस/एएफपी)