बुर्तिबाङबजार (बागलुङ) । बागलुङको बुर्तिबाङबजारमा अखिल नेपाल युवक सङ्घले सङ्घीयता विरुद्ध सिठी जुलुस निकालेको छ ।
‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेजीको लागि चैत २४–३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलन सफल पारौ” मूल नाराका साथ २०८१ फागुन २८ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
युवक सङ्घ ढोरपाटन नगर समितिद्वारा आयोजित सो कार्यक्रम बुर्तिबाङबजार परिक्रमा गर्दै सम्पन्न भएको थियो ।
सो अवसरमा आयोजित कोणसभालाई राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला सदस्य धनबहादुर अदैले सम्बोधन गर्नुभएको थियो ।

उहाँले नेपालको सन्दर्भमा सङ्घीयता आवश्यक नभएकाले त्यसको विकल्पमा प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित
एकात्मक प्रणाली कायम गर्नुपर्ने आवश्यकतामा जोड दिन्नुभयो ।
‘सङ्घीयताको प्रधान पक्ष प्रदेश संरचना भएकाले त्यसलाई खारेज गरी प्रशासकीय रूपमा रहनुपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यसपछि बचेको बजेटले सिङ्गो देशको शिक्षा र स्वास्थ क्षेत्र निःशुल्क हुन सक्छ ।’
देशमा भ्रष्टाचार, घुसखोरी, सहकारी ठगीलगायतका विकृति बढिरहेको देशमा सङ्घीयताले राष्ट्रिय विखण्डनको अवस्था उत्पन्न भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन युवक सङ्घ ढोरपाटनका नगर अध्यक्ष रामबहादुर अर्गेजाले गर्नुभएको थियो ।
