बेइजिङ । चीनले मङ्गलबार चिनियाँ सामानमा लगाएको १० प्रतिशत भन्सारदरको प्रतिशोधमा अमेरिकाबाट आयात हुने कोइला र तरलीकृत प्राकृतिक ग्याँसमा १५ प्रतिशत भन्सारदर लगाउने बताएको छ ।
बेइजिङको वित्त मन्त्रालयले अमेरिकाबाट कच्चा तेल, कृषि मेसिनरी, ठुला विस्थापन सवारी साधन र पिकअप ट्रकको आयातमा १० प्रतिशत भन्सार महसुल लगाउने पनि घोषणा गरेको छ ।
बेइजिङका अनुसार नयाँ उपाय सप्ताहान्तमा वासिङ्टनले लगाएको एकतर्फी भन्सारदरवृद्धिको प्रतिक्रियामा आएका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडा र मेक्सिकोलगायत प्रमुख व्यापार साझेदार विरुद्ध व्यापक उपाय घोषणा गरे । चीनबाट आउने सामानले उनीहरूले पहिले नै वहन गरेको भन्सारदरमाथि थप १० प्रतिशत भन्सारदर लगाइने छ । गैरकानुनी आप्रवासी र फेन्टानिलसहितका लागुऔषधको अमेरिकामा प्रवाह रोक्न असफल देशलाई सजाय दिने उद्देश्यले यी कदम चालिएको ट्रम्पले बताए ।
चीनले भनेको छ– “अमेरिकी कदमले विश्व व्यापार सङ्गठनका नियमको गम्भीर उल्लङ्घन गर्दछ । आफ्नै समस्या समाधान गर्न केही गर्दैन र चीन र अमेरिकाबिचको सामान्य आर्थिक र व्यापारिक सहयोगमा बाधा पुऱ्याउँछ ।”
अर्को सोमबारदेखि लागु हुने बेइजिङको करको घोषणा ट्रम्पले आगामी २४ घन्टामा राष्ट्रपति सी जिनपिङसँग फोनमा कुरा गर्ने घोषणा गरेको केही समयपछि गरिएको हो ।
क्यानडा–मेक्सिको सम्झौता
मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबाम र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो दुवैले यसअघि ट्रम्पसँग अन्तिम समयमा सम्झौता गरेर अमेरिकामा आप्रवासी र फेन्टानिलको प्रवेश विरुद्ध कडा सीमा उपाय गरेका थिए । यसबाट धम्की दिइएको भन्सारदरमा ३० दिनको विराम लागेको छ ।
एसियाली सेयर बजार मङ्गलबार भन्सारदरमा विराम लागेको खबरले बढे भने वार्ताले विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीन विरुद्धको भन्सारदर कम गर्न सक्ने आशा काम गऱ्यो तथापि चीनले आफ्ना उपाय घोषणा गरेपछि व्यापारीले ती लाभमध्ये केही घटाए ।
क्यानडा र मेक्सिकोबाट आयातमा २५ प्रतिशत भन्सारदर लगाउने ट्रम्पको धम्कीले विश्वव्यापी व्यापारयुद्धको डर निम्त्याएपछि सोमबार विश्वव्यापी सेयर बजारमा गिरावट आएको थियो ।
सिनबामसँग धेरै मैत्रीपूर्ण वार्तापछि मेक्सिकोमाथि लगाइएको भन्सार तुरुन्तै रोक्ने र आफ्ना समकक्षीले अमेरिका–मेक्सिको सीमामा १० हजार सैनिक पठाउन सहमत भएको ट्रम्पले बताए ।
व्यापारयुद्ध होइन
अमेरिका र क्यानाडाबिच तनाव बढेको देखिन्छ तर ट्रुडोसँग दुईपटक फोन गरेपछि ट्रम्पले ट्रुथ सोसलमा प्रधानमन्त्री हामीसँग सुरक्षित उत्तरी सीमा सुनिश्चित गर्न र अन्ततः फेन्टानिलजस्ता लागुऔषधको घातक प्रकोप अन्त्य गर्न सहमत भएको बताइएको छ ।
ट्रुडोले सीमा सुरक्षित गर्न, लागुऔषध कार्टेललाई आतङ्ककारीका रूपमा सूचीबद्ध गर्न, फेन्टानिल जार नियुक्त गर्न र मनी लन्ड्रिङ विरुद्ध कारबाही गर्न क्यानडाले लगभग १० हजार अग्रपङ्क्तिका अधिकारी तैनाथ गर्ने बताए ।
अधिकारीले डिसेम्बरमा नै आठ हजार पाँच सय कर्मचारी तैनाथ गरिसकेको बताएको हुनाले क्यानडेली सीमामा परिवर्तनको वास्तविक सीमा स्पष्ट थिएन । क्यानडा, चीन र मेक्सिको अमेरिकाका तीन सबैभन्दा ठुला व्यापारिक साझेदार हुन् ।
ह्वाइट हाउसले पहिले नै सप्ताहान्तमा धेरै वार्ता भएको बताएको थियो ।
‘यो व्यापारयुद्ध होइन, यो लागुऔषधको युद्ध हो’ राष्ट्रिय आर्थिक परिषद्का निर्देशक केभिन ह्यासेटले सिएनबिसीलाई भने– ‘क्यानडेलीले स्पष्ट भाषा बुझ्न नसकेकोजस्तो देखिन्छ’ यद्यपि अमेरिकी सरकारको तथ्याङ्कले क्यानडा हुँदै न्यूनतम मात्रामा मात्र लागुऔषध प्रवेश गरेको देखाउँछ ।
एकाउन्नौँ राज्यको प्रसङ्ग
ओटावाले भन्सारदरको कडा जवाफ दिने प्रतिज्ञा गरेको थियो । क्यानडेलीले खेलकुद कार्यक्रममा अमेरिकी राष्ट्रियगानको विरोध गरेका छन्† अमेरिकामा बिदा रद्द गरेका छन् र अमेरिकी उत्पादन बहिष्कार गरेका छन् ।
यसको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोले सोमबार अमेरिकी कम्पनीलाई सरकारी सम्झौतामा दशौँ अर्ब डलरको सरकारी ठेक्कामा बोलपत्र हाल्न प्रतिबन्ध लगाएको थियो र ट्रम्पका सहयोगी एलन मस्कको स्टारलिङ्कसँगको सम्झौता खारेज गरेको थियो ।
ट्रम्पले क्यानडाको अस्तित्वलाई प्रश्नमा राखेर हालै दबाब बढाए । सोमबार फेरि एकपटक यसलाई एकाउन्नौँ अमेरिकी राज्य बनाउने वकालत गरे ।
ट्रम्पको भन्सारदर धम्कीमाथि क्यानडेली सरकारमा राजनीतिक सङ्कटले ट्रुडोले राजीनामा दिने घोषणा गरे । क्यानडेलीले अब अप्रिलको सुरुमा चुनावको सामना गर्नुपर्नेछ ।
यसैबिच, ट्रम्पले कागजातविहीन आप्रवासीमाथि व्यापक कारबाहीको प्रतिज्ञा गर्दै मेक्सिकोलाई अमेरिकासँगको सीमा सुरक्षित गर्न भारी दबाब दिए ।
भन्सारदर शब्द शब्दकोषको सबैभन्दा सुन्दर शब्द भएको बताउने अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो कार्यकालभन्दा पनि बढी भन्सारदर लगाउँदैछन् ।
उनले अधिकांश विशेषज्ञले विपरीत भने पनि यसको प्रभाव अमेरिकी उपभोक्तामा नपर्ने र विदेशी निर्यातकर्ताले नै बेहोर्ने जोड दिनुभएको छ यद्यपि ७८ वर्षीय अर्बपति राष्ट्रपतिले आइतबार आफ्नो फ्लोरिडा रिसोर्टबाट फर्किंदै अमेरिकीले आर्थिक पीडा महसुस गर्न सक्ने स्वीकार गरे । (रासस/एएफपी)