काठमाडौं । अमेरिकी भूमिमा जन्मेका आधारमा त्यहाँको नागरिकता दिने व्यवस्था हटाउने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ ।
अमेरिकामा जन्मेका शिशुहरू स्वतः नागरिक हुने व्यवस्था अन्त्य गर्ने गरी राष्ट्रपति ट्रम्पले गरेको कार्यकारी आदेशलाई यूएस डिस्ट्रिक्ट कोर्टका न्यायाधीश जोन कफ्नरले ‘असंवैधानिक’ रहेको बताउँदै दुई साताका लागि कार्यान्वयन गर्नमा रोक लगाएका छन्।
बिहीबार २५ मिनेट लामो सुनुवाइपछि उक्त आदेश कार्यान्वयन गर्न अन्तरिम रोकको आदेश दिइएको बीबीसीले जनाएको छ । अबको १४ दिन थप कानुनी प्रक्रियाहरू रोकिनेछन्।
उक्त निर्णय फेब्रुअरी १९ देखि जन्मिने शिशुहरूका हकमा लागू हुने अमेरिकी न्याय मन्त्रालयले पेस गरेको कानुनी दस्ताबेजमा उल्लेख थियो ।
चार अमेरिकी राज्यहरू वाशिङ्टन, एरिजोना, इलिनोई र ओरिगनले उक्त मुद्दा अघि सार्दै जन्मका आधारमा नागरिकता प्राप्त गर्ने हक संवैधानिक रहेको र राष्ट्रपतिसँग संविधान संशोधन गर्ने अधिकार नभएको बताएका थिए।
कागजातबिना अमेरिकामा रहेका आप्रवासी र विदेशी आगन्तुकबाट जन्मिएका शिशुले पाउने नागरिकताको अधिकार अन्त्य गर्ने ट्रम्पको प्रयासविरुद्ध त्यहाँ अन्य कैयौँ मुद्दाहरू समेत परेका छन्।
अमेरिकी भूमिमा जन्मने सबै जनाले स्वतः त्यहाँको नागरिकता पाउने व्यवस्था अमेरिकी संविधानमा सुरुमा थिएन।
तर गृहयुद्ध अन्त्य भएपछि स्वतन्त्र पारिएका, अमेरिकामा जन्मिएका ‘पूर्वदास’हरूलाई सम्बोधन गर्ने गरी सन् १८६८ मा यस व्यवस्था थपिएको थियो। अमेरिकी संविधानको १४औँ संशोधनमा यो विषय समावेश छ।
ह्वाइट हाउस फर्किएयता चरणबद्ध रूपमा एकतर्फी आदेशहरू दिइरहेका ट्रम्पले लामो समयदेखि यस्तो परिवर्तन गर्ने बताउँदै आएका थिए।
अमेरिकामा सन् २०२२ मा मात्र कागजात नभएका आमाहरूबाट २ लाख ५५ हजार बालबालिकाहरू जन्मिएको उल्लेख गरिएको छ।