नयाँदिल्ली । बङ्गलादेशका भारतस्थित उपउच्चायुक्त नुरुल इस्लामलाई विदेश मन्त्रालयले सोमबार सोधपुछका लागि बोलाएको छ ।
बङ्गलादेशको विदेश मन्त्रालयले ढाकाका लागि भारतीय उच्चायुक्त प्रणय वर्मालाई आइतबार बोलाएको एक दिनपछि बङ्गलादेशका उपउच्चायुक्तलाई बोलाइएको हो ।
बङ्गलादेशको विदेश मन्त्रालयले भारत–बङ्गलादेश सीमामा हालै बार लगाइएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै आफ्नो आपत्ति जनाउन भारतीय उच्चायुक्तलाई बोलाएको थियो ।
“विभिन्न मुलुकमा राजदूत भई अनुभव हासिल गरिसक्नुभएका बङ्गलादेशका विदेश सचिव मोहम्मद जसिमउद्दीनले आइतबार बङ्गलादेश–भारत सीमामा भारतको सीमा सुरक्षा बल (बिएसएफ) को हालैका गतिविधिलाई लिएर भारतका उच्चायुक्त प्रणय वर्मासँग गहिरो चिन्ता व्यक्त गर्नुभयो’ बङ्गलादेशको विदेश मन्त्रालयले विज्ञप्तिमा भनेको छ ।
उहाँले यस्ता गतिविधि विशेष गरी काँडेदार तार निर्माण गर्ने अनधिकृत प्रयास र बिएसएफद्वारा सम्बन्धित परिचालन कार्यले सीमामा तनाव र अशान्ति निम्त्याएको कुरामा जोड दिनुभयो ।
बिएसएफद्वारा सुनामगञ्जमा हालै एक बङ्गलादेशी नागरिकको हत्या भएको उल्लेख गर्दै बङ्गलादेशका विदेश सचिवले सुनामगञ्जमा एक बङ्गलादेशी नागरिकको कथित हत्याप्रति गहिरो चिन्ता र निराशा पनि व्यक्त गर्नुभयो ।
जवाफमा भारतीय उच्चायुक्तले सीमामा हुने अपराधको सामना गर्न र तस्करी, अपराधीको आवागमन र मानव बेचबिखनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोगात्मक दृष्टिकोणमा जोड दिनुभयो । (रासस/एएनआई)





