काठमाडौं । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली डढेलो फैलिएको छ । डढेलोका कारण एक लाख भन्दा धेरै मानिसहरू घर छाडेर भाग्न बाध्य भएका बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार लस एन्जलस सहरको नयाँ स्थानमा आगो फैलिरहेको छ।
नयाँ डढेलो अमेरिकी चलचित्र उद्योगलाई सङ्केत गर्ने चर्चित चिन्ह रहेको स्थान नजिकैको हलिवुड हिल्समा फैलिरहेको छ।
धनाढ्यहरूको बसोबास रहेका कैयौँ क्षेत्रहरू खाली गराइएकाले अधिकारीहरूले त्यहाँ लुटपाट हुनसक्ने चेतावनी जारी गरेका छन्।
एक हजार वर्ग किलोमिटर भन्दा बढी क्षेत्रफलमा फैलिएको आगो तीव्र वेगको हावाका कारण फैलिएको थियो।
सबैभन्दा खराब आगलागी पसिफिक प्यालिसेड्स क्षेत्रमा भएको छ जसलाई उक्त सहरको इतिहासकै विध्वंसकारी भनिएको छ।
अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिएको छैन र अग्नि नियन्त्रकहरूले पानीको चाप कम हुँदा आफूहरूलाई अप्ठेरो परिरहेको बताएका छन्।
राष्ट्रपति जो बाइडनले थप सहयोग उपलब्ध गराउन सेनालाई आदेश दिएका छन्।
प्यालीसेड्स, इटन, हर्स्ट र वुड्लीको आगो नियन्त्रणमा आएको छैन। पाँच जनाको ज्यान गएको र १ हजार भन्दा बढी संरचनामा जलेर नष्ट भएको अधिकारीहरूले बताएका छन्।
भेन्टुरा काउन्टीमा डढेलो ११ एकर क्षेत्रफलमा फैलिएको जनाइएको छ। त्यसबाहेक बुधवार साँझबाट हलिवुड हिल्समा फैलिएको आगो एक घण्टा भन्दा कम समयमा २० एकरमा फैलिएको थियो।
इटन क्षेत्रको आगलागीका कारण १ लाख मानिसहरू सुरक्षित स्थानमा जान बाध्य भएका थिए। प्यालीसेड्स क्षेत्रबाट ३७ हजार मानिसलाई सुरक्षित स्थानमा पठाइएको थियो।
इटन क्षेत्रमा रहेको पासडिनाका मेयर भिक्टर गोर्डोले त्यहाँ १ लाख मानिसहरूलाई बाध्यकारी रूपमा सो स्थान खाली गर्न भनिएको र थप एक लाखलाई उनीहरू चाँडै उक्त स्थानबाट भाग्नुपर्ने चेतावनी दिइएको बताएका छन्।
पसिफिक प्यालीसेड्सको आगोलाई लस एन्जलस क्षेत्रकै सबैभन्दा खराब भनिएको छ। अधिकारीहरूले त्यहाँ कम्तीमा १ हजार भवनहरू नष्ट भइसकेको जनाएका छन्।