टोकियो । जापान सरकारले आगामी आर्थिक वर्षको बजेटमा वृद्धवृद्धाको व्यवस्थापन, सामाजिक कल्याण र क्षेत्रीय खतरासँग जुध्न अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ ।
सरकारले सन् २०२५ को अप्रिलदेखि सुरु हुने वर्षका लागि ११५।५ ट्रिलियन येन अर्थात् ७३० अर्ब अमेरिकी डलरको बजेटमा ८।७ ट्रिलियन येन सुरक्षा खर्च समावेश गरेको हो ।
सामाजिक सुरक्षा खर्च पनि ३८।३ ट्रिलियन येन समावेश छ जुन अघिल्लो वर्षको ३७।७ ट्रिलियन येनभन्दा बढी हो ।
जापानले सामना गरिरहेको अर्को चुनौती लामो समयदेखि कम जन्मदर र आप्रवासनको लागि सतर्क दृष्टिकोणको कारण यसको वृद्ध जनसङ्ख्या हो । जापान विश्वको सबैभन्दा पुरानो समाजमध्ये एक हो र यो वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेरका मानिसको अनुपात २९।३ प्रतिशत पुगेको छ ।
बजेटको मस्यौदा संसद्बाट पारित गर्नुपर्ने छ र सत्तारूढ लिबरल डेमोर्क्याटिक पार्टी र यसको सानो गठबन्धन साझेदार कोमेइतोलाई विपक्षी दलको सहयोग आवश्यक पर्ने छ ।
इसिबाले गठबन्धनलाई १५ वर्ष यताकै सबैभन्दा कमजोर चुनावी नतिजा प्राप्त गरे पनि प्रधानमन्त्रीको रूपमा जिम्मेवारीलाई निरन्तरता दिनुभएको छ ।
सन् २०२५ को ग्रीष्मयाममा संसद्को माथिल्लो सदनको निर्वाचन हुनेछ । (राससरएएफपी)