काठमाडौँ । नेकपा (मसाल) ले रूग्ण उद्योगलाई निजीकरण गर्ने नीति सार्वजनिक सम्पत्ति कब्जा गर्ने नियतका साथ आएको ठोकुवा गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ कात्तिक ६ गते मङ्गलबार जारी प्रेसवक्तव्यमार्फत पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।
सरकारकै सार्वजनिक उद्योगप्रतिको गलत नीतिका कारणले उद्योगको अवस्था रूग्ण भएको बताउँदै वक्तव्यमा सार्वजनिक उद्योगलाई समेत निजीकरण गर्ने पुँजीवादी नीतिको समाजवाद पक्षधर सम्पूर्ण शक्तिले विरोध गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेपाल सरकारले रूग्ण उद्योगलाई निजीकरण गर्नेबारे निर्णय गर्न थालेको कुरा कतिपय सञ्चारमाध्यमले बाहिर ल्याएको समाचारप्रति नेकपा (मसाल) को गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले ती उद्योगलाई निजीकरण गर्नेबारे जुन निर्णय गर्दै छ, त्यसलाई हामीले गलत मान्दछौँ र विरोध गर्दछौँ ।
अहिले सरकारले जुन उद्योगलाई रूग्ण भएको बताउँदै छ, ती उद्योगहरू त्यसरी रूग्ण हुनुको पछाडि प्रथम– सरकारको सार्वजनिक उद्योगप्रतिको नीतिगत रूपमा नै गलत दृष्टिकोण र द्वितीय– गैरजिम्मेवार र भ्रष्ट प्रशासकीय कार्यप्रणाली जिम्मेवार छ । त्यसका साथै ती उद्योगको निजीकरण पछाडि ती उद्योगको स्वामित्वमा रहेको ठुलो पैमानाको सार्वजनिक सम्पत्तिमाथि कब्जा गर्ने नियतले काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।
नेपालको संविधानमा समाजवादोन्मुख राज्यको निर्माण गर्ने कुरा बताइएको छ । त्यो अवस्थामा सार्वजनिक क्षेत्रका उद्योगलाई अरू प्रोत्साहित गर्दै जानेतिर ध्यान दिनुपर्ने हो तर त्यसको विपरीत सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई संरक्षण गर्नुको सट्टा तिनीहरूलाई निजीकरण गर्ने प्रयत्न गर्दै छ । त्यसले सरकार संविधानले निर्धारण गरेको सिद्धान्तप्रति नै इमानदार नभएको कुरालाई बताउँछ ।
विश्वमा समाजवादी व्यवस्थाको पतनको साथै सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई निजीकरण गर्ने अभियान विश्वव्यापी रूपमा नै चलेको छ । पुँजीवादी अर्थशास्त्रको नीतिगत रूपमा नै राज्यले कुनै उद्योग पनि सञ्चालन गर्नुहुन्न भन्ने मान्यता रहेको छ । त्यही सिद्धान्तअनुसार नै सरकारले सार्वजनिक क्षेत्रमा भएका उद्योगलाई राम्ररी सञ्चालन नगरेर रूग्ण अवस्थामा पुर्याउने र तिनहरूलाई निजीकरण गर्दै जाने नीति अपनाएको कुरा प्रस्ट छ । सरकारको त्यस प्रकारको नीतिको समाजवाद पक्षधर सबै राजनीतिक शक्तिले विरोध गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”